काठमाडौं ,१४ चैत ।
नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित बृहत् आन्दोलन गर्ने जनाएको छ। महासंघले उक्त आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक/कर्मचारीहरूलाई अपिल पनि गरेको छ।
महासंघका अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले संवाद गर्न बोलाएको थियो। तर,वार्तामा नजाने महासंघले जनाएको छ।
‘अन्तिम र निर्णायक बनाउन २०८१ चैत्र २० गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन हुँदैछ, यसैबीचमा शिक्षा मन्त्रालयले महासङ्घसँग संवाद गर्न मन्त्री स्तरीय निर्णयबाट समन्वय तथा सहजीकरण समिति बनाएको जानकारी पत्र मार्फत प्राप्त भएको छ,’महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको र उक्त समिति अन्तर्गत उपसमिति बनी छलफल र संशोधन (सुझाव) सूचीकरण लगायतको काम भइरहेका सन्दर्भमा मन्त्रालयअन्तर्गत बनेको उक्त समन्वय तथा सहजीकरण समितिमा रहेर गरिने वार्ता र छलफलले लक्षित परिणाम नदिने हुँदा सो वार्ता र छलफलमा रहनु औचित्य पूर्ण नहुने कुरा जानकारी गराउँछौँ,साथै समितिमा रहेको विद्यालय शिक्षा विधेयकमाथि तीव्र गतिमा छलफल सन्चालन गरी शीघ्रातीशीघ्र ऐन जारी गर्ने पक्षमा समय र सामर्थ्य खर्चिन सम्बन्धित सबैमा अपिल गर्दछौँ।’
वार्ता, भेटघाट र छलफलको भ्रममा नपरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन महासंघले अपिल गरेको छ। शिक्षा विधेयक तत्काल जारी गर्न माग गर्दै यतिखेर पनि महासंघले आन्दोलन जारी राखेको छ।