
भक्तपुर, ३ जेठ : बीर अस्पताल पछि स्थापना भएको दोश्रो पुरानो अस्पतालको रुपमा चिनिएको भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलो पटक सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याएको छ ।
तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको भक्तपुर अस्पतालमा वागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान मेशिन सञ्चालनमा आएको र औपचारिक रुपमा भोली आइतबारदेखि विरामीलाई सेवा प्रवाह गरिने भएको छ ।
यसअघि मेशिन भक्तपुर अस्पताल ल्याएसंगै वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले उक्त मेशिन जडान क्षेत्रको अवलोकन गरि छिटो भन्दा छिटो मेशिन सञ्चालनमा ल्याएर आमनागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभएको थियो ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, ‘यो मेरो पनि जिल्ला हो, बीर अस्पताल पछिको दोश्रो अस्पताल भएपनि विगतमा राज्यले बेवास्ता गर्दा पछाडि परेको थियो । अस्पतालले विकासको गति लिएको छ । मन्त्रालयकै बजेट र पहलमा सिटी स्क्यान मेशिन सञ्चालनमा आएको छ । अज भक्तपर अस्पताल आउने विरामी र यहाँका जिल्लावासीले सिटीस्क्यान गर्न काठमाडौं धाउनु पर्दैन ।’
अस्पतालका लागि वागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बोलपत्र आव्हान गरि आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेशिन खरिद गरेर अस्पतालमा मेशिन सञ्चालनमा ल्याउन पाउनु भक्तपरवासीकै लागि खुसीको कुरा भएको मन्त्री थापाले बताउनुभयोे ।
मन्त्री थापाले भन्नुभयो, “भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन ल्याउने तयारी गरेको छौँ । यो मेशन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ । यी दुवै मेशिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यबस्थापन गर्छ ।”
कोरोना महामारीमा अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेन्ट एवं हाल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि अस्पताल देशकै उत्कृष्ठ अस्पताल घोषणा हुन सफल भएको थियो । भक्तपुर अस्पतालमा सञ्चालनमा आएको सिटी स्क्यान मेशिन १० वर्षसम्म कुनै समस्या नआउने र समस्या आईहाले तत्काल कम्पनीले मर्मत गर्ने गरि सम्झौता भएको उहाँले बताउनुभयो ।
मन्त्रालयका सचिव डा. गौतमले भन्नुभयो, ‘सिटी स्क्यान मेशिन दिने कम्पनीलेनै अबको १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने गरि ग्यारेन्टी गर्दै सम्झौता गरेको छ, मेशिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरि व्यबस्था गरेको छ, कम्तीमा १० वर्षसम्म यो मेशिन ढुक्कसंग सञ्चालन हुन्छ ।’
उहाँले अस्पतालको आकस्मिक कक्षसंगै रहेको भवनमा १० शय्याको डायलोसिस कक्ष तयार पारेको बताउदै केन्द्रीय सरकारले डायलोसिस मेशिन सहयोग गरे दैनिक कम्तीमा १०० विरामीलाई सेवा दिन सकिने बताउनभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले सिटी स्क्यान मेशिन जडान गरि परीक्षण सम्पन्न गरेको बताउदै भोली आइतबार बिहान उद्घाटन गरेसंगै औपचारिक रुपमा विरामीको सिटी स्क्यान गर्दै मेशिन सञ्चालन गरिने बताउनुभयो । उपकरण जडान गरेर सञ्चालन गरि परीक्षण गरिएको बताउदै उहाँले औपचारिक रुपमा भोली ४ गते बिहान उद्घाटन गरेसंगै विरामीले सेवा पाउने उहाँले बताउनुभयो । उहाँले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा मंहगो शुल्क तिरेर धाउनु नपर्ने बताउनुभयो ।