
काठमाडौं,६ जेठ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भएको हो । काठमाडौंमा बिहान भने पानी पर्न रोकिएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशलगायत कोशी प्रदेशको तराईं भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थान र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको छ । कतिपय स्थानमा आउँदो सातासम्मै वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।