
भक्तपुर, १ भदौ : वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका १३ जिल्लाका पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ ।
आज भक्तपुरमा सञ्चारकमीृहरुलाई यसबारे जानकारी दिदै वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश भित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरि बिमा लागू गर्न लागेको बताउनु भयो ।
मन्त्री थापाले भन्नुभयो, “पत्रकारहरुको स्वास्थ्य प्रति हामी गम्भिर भएका छौँ, त्यसैले वागमती प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमा भित्र समेटेर बिमाको प्रिमियम प्रदेश सरकारले व्यहोर्ने गरि पत्रकारका लागि स्वास्थ्य बिमा लागू गर्ने भएका हौ, त्यसका लागि बजेटको व्यबस्था गरिसकेका छौं ।” मन्त्री थापका अनुसार पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले २० लाख रुपैयाको बजेट चालू आर्थिक वर्षका लागि व्यबस्था गरेको बताउनु भयो । यसका लागि कार्यबिधी तयार हुदै गरेको बताउनुभयो ।
बिमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउदै पत्रकारहरूलाई पाँच जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्ने गरि व्यबस्था गर्ने तयारी भएको बताउनुभयो । उहाँले पत्रकारहरूको स्वास्थ्य सुरक्षामा बिमाले दीर्घकालीन रुपमा सुधार ल्याउने बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ’मेरो स्वास्थ्य, मेरो जिम्मेवारी– एक घण्टा मेरो लागि’ अभियान, ’एक जिल्ला, एक स्वस्थ सहर’ र ’एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसै वर्ष सञ्चालन हुने बताउनुभयो ।
मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पताल मात्रै नभई अब दूरदराजका बिकट क्षेत्रका नागरिकलाई समेत सहज स्वास्थ्य सेवाको पहुँच पुर्यार आमनागरिकले सरकार गाउँ गाउँ पुगेको महसुस गर्ने गरि कार्य योजना अगाडि बढाएको बताउनुभयो । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफै गाउँगाउँ पस्ने बताउदै उहाँले जनताले परिवर्तनलाई अनुभति गर्ने गरि काम गर्ने बताउनुभयो ।