हामीसँग जोडिनुहोस

 प्रत्यारोपणका नीति नियमलाइ खुकुलो बनाउन आवश्यक : स्वास्थ्य मन्त्री पौडेल

नेपालमा आवश्यकताको २० प्रतिशत पनि अंगदान प्राप्त हुन सकेन : स्वास्थ्य मन्त्री पौडेल

4 मिनेट
-रमेश गिरी
भक्तपुर, २८ साउन : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले माग अनुसारको आवश्यकतालाई बृद्धि गर्न अंग प्रत्यारोपणका नीति नियमलाइ खुकुलो बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
विश्व अंगदान दिवसको अवसरमा आज शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेकाले नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनु भएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बिमासंग बिपन्नवर्ग जोडियो भने प्रत्यारोपण सुबिधा रु नौ लाखसम्म पुग्छ । त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अंगदान गर्नेलाई निःशुल्क बिमा गर्ने व्यबस्था आवश्यक छ । यसका लागि लागिरहेका छौँ ।”
अंग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनु पर्ने आवश्यकता रहेको औल्याउँदै उहाँले सबै संघीय अस्पतालको क्षमता तीन गुणा बढाएर सबैलाई कम्तिमा ५०० बेड बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
क्यान्सरको समेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटी स्क्यान मेसिनहरू विस्तार गर्दै लगिने बताउनुभयो ।
मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका आज जारी हुुन लागेको बताउदै भारतमा खुलेआम अंग बेचबिखन भएपछि भारतले कडाई गरेको अबस्थामा नेपालमा पनि अंगदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पु¥याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो । प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै उहाँले विशिष्टिकृत उपचारलाई काठमाडौं उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले लिएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि सार्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै शैय्या अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरुवात हुनु नै स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धी भएको बताउँदै नेपालमै मृगौला र कलेजो प्रत्यारोपणले राज्यको अरबौं रुपैयाँ विदेशिनबाट जोगिएको बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मृगौला प्रत्यारोपण सेवाको सुरुवात भएसँगै बिरामीहरूलाई आर्थिक तथा मानसिक रुपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो । उहाँले एकजना व्यक्तिले आठजनालाई नयाँ जीवन दिनसक्ने बताउनुभयो ।

डाक्टर श्रेष्ठले भन्नुभयो,  “मरणोपरान्त अंगदानको सामाजिक अभियानमा हामी सबै जुटौँ ।”  मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला दुईजनालाई दिन सकिने उनले बताए । उहाँले एक व्यक्तिबाट मुटु एकजनालाई, सानो आन्द्रा एकजनालाई, प्याङ्क्रियाज एकजनालाई, कलेजो एकजनालाई र फोक्सो दुईजनालाई दिन सकिन्छ भन्नुभयो।

कुनै पनि मानिसको मृत्यु भएको छ कि छैन भनेर थाहा पाउने पहिलो आधार मध्ये मस्तिष्क मृत्यु एक भएको उहाँले बताउनुभयो । “मस्तिष्क मृत्यु भएको व्यक्तिलाई वैज्ञानिक र कानुनी दुवै रूपमा मृत्यु भएको मानिन्छ,” उहाँले भन्नुभयो, “तर, मस्तिष्क मृत्यु भइसकेको अवस्थामा पनि मानव शरीरका अन्य महत्वपूर्ण अंगहरू भने सक्रिय भइरहेको हुनसक्छ ।”

यस्तो अवस्थामा मृत व्यक्तिको अंग अरु बिरामीलाई प्रदान गर्न सकिने उनको भनाइ छ । “तर, त्यसको लागि मृत व्यक्तिले आफ्नो मृत्युपूर्व नै सरकारद्वारा स्वीकृत निकायमा कानुन बमोजिम अंगदानको अनुमति दिएको हुनुपर्छ, उहाँले भन्नुभयो।”

मृत व्यक्तिको आफन्तले सम्बन्धित निकायसँगको सहकार्यमा अंगदान गर्नसक्ने पनि उहाँले बताउनुभयो ।  मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ ले अंगदान तथा प्रत्यारोपणलाई कानुनी रूपमै वैधानिकता दिएको छ ।  केन्द्रका निर्देशक श्रेष्ठका अनुसार हाल बर्सेनि आठ हजार अंग खेर गइरहेको छ । हाल सरकारले सातै प्रदेश अंग प्रत्यारोपण केन्द्र बनाएर सेवा सुरु गर्ने तयारी गरेको छ ।

कार्यक्रममा प्र्रत्यारोपणका संयोजक डा. कल्पनाकुमारी श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त ब्यक्तिको अंगदानबाट नयाँं जीवन पाएका शिव महर्जनले अंगदान र जीवनबारे अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा अंगदान गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।