
भक्तपुर, ३० जेठ : सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । आज नगरपालिकामा सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम–०८१÷०८२ मा नगर प्रमुख वासुदेव थापाले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नु भएको थियो ।

जिल्लामा पुराना नगरपालिकाको रुपमा रहेको भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र नयाँ नगरपालिकाको रुपमा रहेको सूर्यविनायक र चाँगुनारायण नगरपालिका मध्ये सूर्यविनायक नगरपालिका पहिलो खोप सुनिश्चित जिल्ला हुन सफल भएको हो ।
नगर प्रमुख थापाले पालिकाका सबै स्वास्थ्यकर्मीहरुलाई शपथ खुवाउनुका साथै नगरभरिका विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा नगर प्रमख थापाले पूर्ण खोप पालिका घोषणाले एक महिनादेखि १६ मसहनासम्मका कुनै पनि बालबालिका खोपबा बञ्चित नभएको बताउदै पूर्ण खोपले बाल मृत्युदर घटेको, अपाङ्गता घटेको र बालबालिकामा निरोगीपना बढेको बताउनुभयो ।

उहाँले नगरपालिकामा सडक, पुल, ढल, मठ मन्दिर सामुदायिक भवनलगायतका भौतिक संरचनाहरु अधिकांश निर्माण सम्पन्न भइसकेको बतादै अबन गरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रलाई विशेष महत्व दिएर बजेटको व्यबस्था गर्दै कार्य गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सूर्यविनायक नगर अस्पताललाई बर्थिङ्ग सेन्टरको रुपमा बिकास गरिएको छ, यसका लागि आवश्यक दक्ष चिकित्सिकको टोली आइसकेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई ५० शय्यामा बिस्तारका लागि स्वीकृतको अन्तिम चरणमा छ । अब अस्पतालको सेवा समेत विस्तार गरेर सञ्चालन गर्नेछौँ ।”
उहाँले शिक्षा र स्वाथ्य सेवालाई जनताको झपडीसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सस्तो गुण्स्तरीय स्वास्थ्य सेवामा पनि नगर अस्पतालले स्थानीयवासीलाई थप २० प्रतिशत छुटमा उपचार गर्ने बताउनुभयो ।

सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्न नयाँ योजना ल्याएको बताउदै उहाँले प्रत्येक संस्थागत विद्यालयमा नियमानुसार कम्तीमा १० प्रतिशत छात्रबृत्ति छनौट गर्न प्रतिस्पर्धाको नीति लिएर पारदर्शी बनाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले आगामी दिनमा पनि स्वास्थ्यकर्मीले उत्कृष्ठ काम गरेर नगरपालिकाको नाम उच्च राख्नु पर्ने बताउनुभयो । उहाँले नगरपालिकाले अघि बढाएका बिभिन्न अभियानलाई सफल पार्न र पूर्ण खोपलाई निरन्तरता दिन स्वास्थ्यकर्मीको योगदान निरन्तर रहन विश्वास समेत व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले आगामी दिनमा पनि स्वास्थ्यकर्मीले उत्कृष्ठ काम गरेर नगरपालिकाको नाम राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरबासीको जन्मदेखि मृत्युसम्मको कर्ममा नगरपालिकाले लगानी गरेको बताउनुभयो । उहाँले नगरपालिकाले किशारकिशोरी, बालबालिका, युवा, जेष्ठ नागरिकसम्ममा जनतालाई अप्ठ्यारो पर्दा नगरपालिकाले सहयोग गन बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जिल्लाका चार वटै नगरपालिकाहरु पूर्ण सुनिश्चित नगरपालिका घोषणाको क्रममा रहेको बताउदै असार महिना भित्र भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अध्यक्षहरु र बिभिन्न निकायहरुका व्यक्तिहरुका सहभागी रहेको थियो ।