
भक्तपुर, २५ साउन ः अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले बिरोधमा सडकमै केराको बोटहरु रोपेका छन् ।
बनेपाबाट नाला हुदै ताथली च्यामासिंह निस्कने एक मात्रै बैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नती गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर सांकेतिक बिरोध गरेका हुन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत आधा अधूरोमै छाडेर सडक अलपत्र र जोखिम पारेर दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान समेत सञ्चालन गरेको थियो ।
रामसीता मन्दिरसंगैको सडकमै समूहले हस्ताक्षरसहित ‘कालो व्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई समेत जानकारी गराएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर सांकेतिक रुपमा बिरोध गरेको समूहको अध्यक्ष सुरेशराज गिरीले जानकारी दिनुभयो ।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक जगाती साँगा धुलिखेल सडक ६ लेन निर्माण कार्य भइरहेकाले ‘च्यामासिंह–ताथली–नाला’ सडकमा दैनिक हजारौ सवारी साधनको चाप बढेको उहाँले बताउनुभयो ।
ताथलीको भञ्याङमा सडक नै खस्न लागेर ठूलो दुर्घटनाको जोखिम बढेको भन्दै उहाँले रामसीता मन्दिरसंगैको अधूरो सडक पनि जीर्ण भएर दैनिक जाम र दुर्घटनाको जोखिम बढेपछि बाध्य भएर आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले ब्रम्हायानी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएको बताउनुभयो ।
सडक क्षेत्रमध्ये सबैभन्दा सकस र दयनीय सडक खण्डको रुपमा पण्डित पधेरो रहेको बताउदै ठाउँ–ठाउँमा कालोपत्र उप्कियर डाउँठाउँमा खाल्डा खुल्डी भएको, बर्षाको समयमा हिलाम्मे र खाल्डा खुल्डीयुक्त उक्त सडकमा यात्रा गर्न समेत सकस भइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष गिरीले चाँगुनारायण नगरपालिकाका अन्य वडाको तुलनामा पूर्वाधार विकासमा निक्कै कमजोर रहेको बताउदै जनप्रतिनिधिहरुले आ–आफ्नो ‘स्वार्थ’ गाँसिएको ठाउँमा मात्रै विकासलाई प्राथमिकतामा राखेपछि यस्तो भएको स्थानीयहरुको आरोप छ ।
तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामांकरण गरिएको र उक्त सडक २०६८ साल चैत १५ गते गणेशमान सिंहले उद्घाटन गर्नु भएको थियो । स्थानीयले सडकको मर्मत र जोखिम क्षेत्रमा तत्काल दुईतर्फी सवारी साधन चल्न सक्ने गरि मर्मत गर्न माग गरेको उहाँले बताउनुभयो ।–––