हामीसँग जोडिनुहोस

आज अँध्यारी गौरा मनाईदै

3 मिनेट

६ भाद्र २०७६, काठमाडौं । सुदुर तथा मध्यपश्चिमवासीले आज अध्याँरी गौरा मनाउदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन उमा महेश्वर सहित दुवोकोे पुजा गरेर मनाउने प्रचलन छ । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताउनुभएको छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी गौरा पर्व भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेहरुका लागि भाद्र शुक्ल अष्टमी अर्थात उजयाली गौराबाटै सुरु गनै शाश्त्रिय विधान छ ।
“यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो” । कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन भने सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् ।
राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता रही आएको छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

“यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो । यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा रहेको छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् ।
दूर्वाष्टमी
दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ । यो दिनमा सूदुरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन्। काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।