
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने मात्र नभई विकल्पसहित निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आफूहरुले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्न आग्रह गरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘हिजो प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन, विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं । प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनुभएको छ ।’ शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।