
बागलुङ — भूकम्पले भत्केको बागलुङ नगरपालिका–११ रायडाँडाको शान्तिविहार बौद्ध गुम्बा पुनर्निर्माण गरिएको छ ।
६२ लाख रुपैयाँमा पुनर्निर्माण भएको हो । भूकम्प पुनर्निर्माण प्राधिकरणले ४१ लाख अनुदान दिने, नगरपालिकाले १५ लाख र ६ लाखको श्रमदान गर्ने योजनाअनुसारको सम्झौता थियो । नगरपालिकाले रकम नदिएपछि स्थानीयले ऋण खोजेर लगानी गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर थापाले बताए ।
‘नगरपालिकाले पनि लगानी गरिदिएको भए उपभोक्तालाई व्ययभार पर्ने थिएन तर आफ्नो आस्था र विश्वासको स्थान भएकाले सबैले लगानी र काम पनि गरे,’ उनले भने, ‘गुम्बाले धार्मिक पर्यटकको गन्तव्यसमेत बनाउने योजना छ ।’
स्थानीयले यसअघि नै १५ लाख रुपैयाँ खर्चेर पर्यटक आकर्षण गर्ने र बस्न मिल्ने सत्तल बनाएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । दान र दाता खोज्ने तथा श्रमदान जुटाएर थप आकर्षक बनाउने योजना बनाएको गुम्बाका भिक्षु नरसिंह थापाले जानकारी दिए । यो गुम्बालाई वडा कार्यालयले गौरवको योजनामा समावेश गरेको छ ।