
भक्तपुर, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अध्यक्षले अब राप्रपा कहिल्य नफुट्ने घोषणा गरेका छन् । भक्तपुरको कमलविनायकमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको राप्रपा जिल्ला समायोजन घोषणा सभामा केन्द्रीय अध्यक्षद्धय पशुपति शमशेर राणा र कमल थापाले कार्यकर्ता माझ अब पार्टी कहिल्य नफुट्ने घोषणा गर्नु भएको हो ।
कार्यक्रममा अध्यक्ष राणाले काँग्रेस र कम्युनिष्टको सरकारले देशका लागि केही गर्न नसकेको आरोल लगाउदै भन्नुभयो, “कम्युनिष्टको दुई तिहाई सरकार आन्तरिक विवादमै तीन टुक्रा भयो, अहिलेको गठबन्धन सरकारले दुई महिना बित्न लाग्दा पनि सरकारलाई पूर्णता दिन सकेको छैन, देशलाई ठूला दलले केही गर्न नसकेको भन्दै यतिखेर नेपाली जनताले बैकल्पिक शक्ति खोजिरहेको छ, जनताको शक्तिको रुपमा उदाउने अवसर राप्रपालाई आएको छ ।”
प्रदेश सभाको निर्वाचनमा कृष्णलाल भँडेललाई विजयी गराउन काँग्रेससंग भएको सम्झौताको स्मरण गराउँदै उहाँले नेपाली काँग्रेसले राप्रपालाई ऋण चुक्ता गर्न बाँकी रहेको बताउनुयो । कार्यक्रममा राप्रपाका अर्का अध्यक्ष कमल थापाले अब पार्टी कहिल्य फुट्दैन भन्दै विगतका तितोलाई बिर्सेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले काँग्रेस र कम्युनिष्ट प्रति जनतामा बितृष्णा र निराशा आएकोले देशको धर्म, संस्कृति, सार्वभौमिकता, स्वाभिमान, राष्ट्रियता जोगाउने तेश्रो शक्ति राप्रपा मात्रै भएको दाबी गर्नुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, “बहुदलीय व्यबस्था आएपछि यी दुई दलले शासन गर्दै आएका छन्, परिवर्तनका नाममा राष्ट्रिय पहिचान र धर्मसंस्कृति माथि नै आँच आउने गरि धर्म निरपेक्ष घोषणा गरियो, त्यसैका आँडमा अहिले सनातन धर्म, संस्कृति माथि आक्रमण भइरहेको छ, हिन्दु र बौद्ध धर्म माथि प्रहार गर्दै लोभ, लालच, प्रलोभन देखाएर धर्म परिवर्तन गराइरहेका छन्, यसलाई जोगाउनु छ ।”
अहिले राष्ट्रियता कमजोर भएकाले विदेशी चलखेल बढेको भन्दै अध्यक्ष थापाले भन्नुभयो, “नेपाल अहिले विश्वकै शक्ति राष्ट्र चीन, अमेरिका, भारत, यूरोपलगायतका देशको रणनीतिक योजनाको चपेडामा परेको छ, एमसीसी नेपाली जनताको हितमा भन्दा पनि बाह्य शक्तिको स्वार्थमा रहेको छ ।”
प्रजातन्त्र र गणतन्त्र सिमित दलका लागि ठगि खाने भाडो बनेको भन्दै उहाँले चुनावमा पनि ठेकेदारी र व्यापारिकरण हुने भएकाले इमान्दार र राष्ट्रवादीलाई चुनाव जित्न गाह्रो हुने गरेको आरोप लगाउनुभयो । वाईडबढी काण्ड, बालुवाटारको ललिता निवास जग्गा काण्ड, सुन काण्ड, एनसेल कर काण्ड लगायतका काण्डहरुमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको सेटिङ्मा हुने गरेको आरोप लगाउदै उहाँले सरकारलाई खबरदारी गर्ने निकायलाई समेत कब्जामा लिएको आरोप लगाउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, “सरकारको गलत काम र भ्रष्टाचारलाई खबरदारी गर्ने संबेधानिक आयोगहरु कार्यकर्ता भर्ति केन्द्र बनाए, त्यसैले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग, विश्व विद्यालयदेखि न्यायपालिकामा समेत पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाएर कब्जामा लिएका छन्, त्यसैले कारबाही भएको छ ।” प्रजातन्त्र आए पछि राजाले स्थापना गरेको उद्योग, कल कारखाना कौडीको भरमा बिक्री गरेर जनतालाई रोजगारीका लागि खाँडी मुलुक जान बाध्य बनाएको सरकारले नयाँ कलकारखाना स्थापना गर्न नसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय नेताहरु बुद्धिमान तामाङ, टंक ढकाल, बिक्रम पाण्डे, दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाह, यवती कार्की, रामहरि थापा, रामेश्वर थापालगायतले राप्रपा एकताले नेतादेखि कार्यकर्तासम्म उर्जा थपेको बताउनुभयो । कार्यक्रमका सभापति एवं जिल्ला अध्यक्ष रामशरण लामिछानेले अब पार्टी एक ढिक्का भएर अगाडि बढ्ने बताउदै आगामी निर्वाचनमा राप्रपाले आफ्नो स्थान बलिायो बनाउने बताउनुभयो ।
कार्यक्रममा पार्टीको अधिवेशनका लागि निर्वाचन समितिको संयोजक नरगोविन्द शंखदेव र सदस्य सचिवमा राजिब लामिछानेसहितको समिति घोषणा गरेको छ । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि २०० भन्दा बढी व्यक्तिहरु राप्रपा प्रवेश गरेको कार्यक्रम सञ्चालक धनबहादुर लामाले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्षद्धय राणा र थापाले टीका तथा खादा लगाएर स्वागत गर्नु भएको थियो ।