
काठमाडौं, २१ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले नेपाली जनताले गरिबी र भ्रष्टाचार मात्रै पाएको बताउनुभएको छ । नेपालमा आएको संघीयताले मुलुकमा गरिबी र भ्रष्टाचार बढेको बताउदै यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । हिजो राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले धनगढीको पार्कमोडमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले एमसिसी, भ्रष्टाचार र महँगीका विरुद्ध आफूहरु आन्दोलित गर्न बाध्य भएको बताउनुभयो । उहाँले संघीयतामा संघ र प्रदेशका आठवटा सरकारलाई पाल्नका लागि ऋण काढ्नुपर्ने अवस्था आएको भन्दै त्यसले नेपाली जनतालाई गरिबीतिर धकेलेको बताउनुभयो । सत्तामा जानका लागि भारत र अमेरिकासँग लम्पसार पर्ने पार्टी देशमा भएको बताउँनुहुदै उहाँले आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा कुनै पनि साम्राराज्यवादी शक्तिसँग घुँडा नटेक्ने उहाँले उल्लेख गर्नुभयो ।