
काठमाडौं, १७ फागुन ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुबलको प्रशासकीय निकाय युइएफएले रुसी राष्ट्रिय टिम तथा रुसी क्लबहरुलाई सबै प्रतियोगिताबाट निलम्बित गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा फिफा र युइएफएले रुसी फुटबलमा तत्कालका लागि प्रतिबन्ध लगाएको हो । अर्को सूचना नआउँदासम्म रुसी राष्ट्रिय टिम र क्लबमाथिको प्रतिबन्ध कायम रहने जनाइएको छ । प्रतिबन्धसँगै रुसी फुटबल टिमले मार्च २४ मा तय भएको विश्वकप छनौट अन्तर्गत पोल्याण्डसँगको प्लेअफ खेल्न पाउने छैन । यस्तै महिला टिमले युरो २०२२ खेल्न नपाउने भएको छ । यस्तै युरोपियत लिगको अन्तिम १६ मा रहेको स्पार्टक मस्को पनि प्रतिस्पर्धाबाट निलम्बित भएको छ । आरबी लेइप्जिग क्वाटरफाइनलमा जाने निश्चित भएको छ ।