
काठमाडौं,१७ फागुन ।
महाशिवरात्रि पर्वका अवसरमा मंगलबार बिहान साढे ११ बजेसम्म तीन लाख बढी भक्तजनहरूले पशुपतिनाथको दर्शन गरेका छन् । भारत र नेपालका विभिन्न जिल्लाबाट आएका दर्शनार्थीहरूले हर्षोल्लासका साथ पशुपतिनाथको दर्शन गरिरहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकलाई लाइन नबसी सिधै दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरूको सुरक्षा तथा भिडभाड नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।
आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले पनि पशुपतिनाथको दर्शन गरेका छन् । साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । कोषले यो वर्ष १० लाख दर्शनार्थीहरूले पशुपतिनाथको दर्शन (पूजा) गर्ने अनुमान गरेको छ ।