
काठमाडौं, ०९ चैत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले युद्धको लडाइँ लडेर विजयी भए सरहको चुनावी लडाइँ लड्न जरुरी रहेको बताउनु भएको छ ।
उहाँले पार्टी कार्यकर्तालाई आगामी स्थानीय, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई निर्वाचनको रुपमा नभई पार्टीले युद्धमा होमिएर विजयी प्राप्त गरेसरह निर्वाचनमा होमिएर विजयी प्राप्त गर्न जरुरी रहेको बताउनुभयो । सोहीअनुसार योद्धाजस्तै चुनावको तयारीमा जुट्न प्रचण्डले जनकपुरधाममा आयोजित चुनावकेन्द्रीत मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निर्देशन पनि दिनुभएको थियो । एमालेप्रति लक्षित गर्दै उहाँले प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको दाबी गर्नुभयो ।