
काठमाडौँ, २७ चैत्र ।
नेकपा (एमाले) निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा। झलक शर्मा गौतम सर्वसम्मत चुनिनुभएको छ ।
संघको काठमाडौंमा जारी चौथो राष्ट्रिय महाधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। यस्तै‚ महासचिवमा डा। सन्तोष पौडेलको नाममा सहमति भएको छ। १५१ सदस्यीय नयाँ कार्यसमितिमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।
सहमति भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ। शुक्रवार र शनिवार भएको महाधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू समेत सहमतिबाटै चुन्ने सूची तयार पारिएको बताइएको छ।
सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहनेछन्। १७ सदस्यीय पदाधिकारीहरूमध्ये दुई उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बराल चुनिएका छन्। यस्तै‚ कोषाध्यक्षमा अञ्जु बस्नेतको नाममा सहमति भएको छ।
८ सदस्यीय सचिव पदमा प्रदेश १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा। धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदूरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसीको नाममा सहमति भएको छ।
यस्तै‚ निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहकार समितिको अध्यक्ष बनाइएको छ। लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिने तयारी भएको छ।