
काठमाडौं, २९ जेठ ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार हुने भएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको हो । सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो । असार देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ । यसकारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म सेयर कारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ ।