
भक्तपुर, १५ भदौ : फोहोरमैला व्यवस्थापन गर्न काठमाडौं उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको आव्हानमा आज मध्यपुरथिमिको फोहोर संकलन गरि जापानिज प्रबिधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्रिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरुले अवलोकन भ्रमण गर्नु भएको छ ।
उपत्यकाका फोहोरलाई व्यबस्थापन गर्न साझा अबधारणा बनाउने लक्ष्यका साथ काठमाडौं महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरका प्रमुख चिरीबावु महर्जन, दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वर नगरप्रमुख दिपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरुले यहाँको फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरि जानकारी लिएको मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिनु भयो ।
अवलोकनपछि नगर प्रमुखहरुले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्न सक्ने गरि विकल्प खोजी गर्ने क्रममा मध्यपुरथिमि आएको उहाँले बताउनु भयो ।
मध्यपुरथिमिमा चार वर्षअघि तत्कालिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जपान भ्रमण गरि जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राबिधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गर्नु भएको थियो । मध्यपुरथिमि वडा नं.े ४ र ५ बाट फोहोर मात्रै संकलन गरि मल बनाउदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रबिधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ ।