
काठमाडौं, ०७ असोज ।सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ।
हिजो परेको रिटमाथि सुनुवाइका लागि आज पेसी तोकिइसकेको छ।अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गर्नुभएको हो । संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने दाबी रिटमा गरिएको छ। रिटमा दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनी अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत, साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु संविधान विपरीत भएको रिटमा उल्लेख छ।