भक्तपुर, श्रावण २० । युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आ.ब.२०७६–०७९ को त्रिबर्षिय रणनीतिक योजना तयार पारेको छ । संस्थाले गत शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको सञ्चालक, समिति–उपसमितिहरुको भेलाले आ.ब. २०७५/०७६ को आय–व्यय विबरण तथा बार्षिक प्रगती प्रतिवेदन र ०७६/०७७ को प्रस्तावित बजेटको छलफल एवं समिक्षा समेत गरेको छ ।
संस्थाले ‘सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट वित्तिय सेवामा समर्पित सहकारी’को परिकल्पना तय गरी आगामी तीन बर्षभित्रमा कुल कारोवार ७० करोड पु¥याउने लक्ष्य लिएको अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । उहाँले कार्यक्षेत्रभित्रका समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक बिकासका लागि समयानुकुल बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गरी समुदायको जीवन उत्थानका लागि कार्य गर्ने लक्ष्य संस्थाले लिएको बताउनुभयो । आ. ब.०७५/०७६ सम्ममा ३ हजार ७ सय १० सदस्य रहेको संस्थामा तीन बर्षभित्रमा ५ हजार सदस्य बढाउने योजना रहेको सचिव सोम शर्मा (बजगाईं)ले जानकारी दिनुभयो । संस्थाको शेयर पूँजि, निक्षेप संकलन, ऋण लगानी, संस्थागत तथा जनशक्ति विकास, क्षमता अभिबृद्धी, भाखा नाघेको ऋण व्यबस्थापन, समयानुकुल नीतिहरु संशोधनलगायतका बिषयको योजना निर्माण गरिएको सचिव बजगाईले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा सुपरिवेक्षण समिति संयोजक जयराम बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, व्यवस्थापक बिनोद लामिछानेलगायतले संस्थाको रणनीतिक योजनाले संस्थालाई मार्ग निर्देशन गरी गन्तव्य पहिल्याउन मद्दत पुग्ने बताउनुभयो ।