हामीसँग जोडिनुहोस

नगरकोटको सिमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण एवं विकासमा अब भक्तपुर र काभ्रेको संयुक्त लगानी

3 मिनेट

-रमेश गिरी
भक्तपुर, २४ पुस : भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा पर्ने उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको पर्यटन बिकासमा दुवै जिल्लाका सिमाना जोडिएका नगरपालिकाले संयुक्त बजेटमा कामको थालनी गर्ने भएका छन् ।

लामो समयदेखि सिमाना, सार्वजनिक जग्गाको दुरुपयोग तथा पर्यटन शुल्कमा समेत दुई जिल्लाका चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाबीच रहदै आएको बिवादलाई दीर्घकालिन रुपमा समाधान गरेर नगरकोटको बिकासमा एकमत भएर लाग्ने दुई नगरपालिकाबीच सहमत भएका हुन् ।

प्रमुख पर्यटकीय क्षेत्र नगरकोटको सिमाङ्कन एवं यस क्षेत्रको पर्यटन विकासका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका तथा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले संयुक्त कार्य गर्ने सहमति भएको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले राससलाई जानकारी दिनुभयो ।

चारवर्ष अगाडि नगरकोटमा चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेपछि मण्डन देउपुर नगरपालिकाले पनि नगरकोटमै एक किलोमिटरको अन्तरमा पर्यटन शुल्क उठाएपछि पर्यटन शुल्ककाबारेमा दुई नगरपालिकाबीच विवाद हुँदा एक वर्षपछि बन्द भएको थियो ।

होटल व्यवसायीले पनि एउटै ठाउँ घुम्न आउने पर्यटकले दोहोरो शुल्क तिर्नु परेको भन्दै कतिपय पर्यटक बीचबाटै फर्कने र कतिपय पर्यटकले बिरोध समेत जनाएपछि होटल व्यवसायीले पर्यटन शुल्कको बिरोध गर्दै आन्दोलननै गरेका थिए ।

नगरकोट जाने पर्यटकले भक्तपुरको बाटो प्रयोग गर्नु पर्ने तर धेरै होटल काभ्रेमा पर्ने भएपछि होटल व्यवसायीले तिर्ने राजस्व भने भक्तपुरले नपाउने बारेको बिवाद समेत बेलाबेलामा हुदै आएको थियो । त्यसका साथै यहाँका ठूलो होटलहरुले नै सार्वजनिक जग्गा हडपेर भवननै बनाएर होटल चलाएको विषयमासमेत बिवाद रहदै आएको छ ।

नगरकोटमा रहेका सबै समस्या समाधान गर्ने र नगरकोटलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उदेश्यले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईबासहतिको टोलीबीच सहमति भएको हो ।

नगरकोटको सिमाङ्कन गर्ने, सार्वजनिक जग्गाको पहिचान गर्दै संरक्षण गर्ने र नगरकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै यसका लागि आगामी दुई महिना भित्र गुरुयोजना निर्माण गर्न दुबै नगरपालिकाले रु. १०–१० लाखको बजेट बिनियोजन गरेको चाँगुनारायणका नगर प्रमुख खत्रीले जानकारी दिनु भयो ।

चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, मण्डन देउपुरका जनप्रतिनिधि र नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी तथा पर्यटन व्यवसायी लगाएका पदाधिकारीहरूको सहमतिमा चालू आर्थिक वर्ष भित्र गुरुयोजना निर्माण सम्पन्न गर्ने निर्णय भएको चाँगुनारायण नगरपालिकाका प्रमुख खत्रीले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “नगरकोटको बिकाका लागि गुरुपोजना सम्पन्न गर्ने, दुवै नगरपालिकाका प्राविधिक शाखा प्रमुख अमिन तथा जनप्रतिनिधिहरूको समन्वयमा आगामी दुई महिना भित्र नगरकोटको जग्गाको सिमांङ्कन गरि एकिन गर्ने, होटेल व्यवसाय लगायत समग्र व्यवसायीहरूले प्रयोग गरेका क्षेत्रको सिमाङ्कन गर्ने, दुवै नगरपालिकामा रहेको सार्वजनिक जग्गाको रेखाङ्कन गरि नगरपालिकाले आफ्नो क्षेत्रको सार्वजनिक जग्गाको संरक्षण गर्ने र सबै क्षेत्रफलको यकिन तथ्याङ्क निकाल्ने भएका छैँ ।”

यहीँ पुस २९ गते चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका र काठमाडौंको शंकरापुर नगरपालिकाबीच बृहत छलफल गरि नगरकोटको समग्र बिकासका खाका तयार पारेर योजनाबद्ध रुपमा चारवटै नगरपालिकाले कार्य गर्ने निर्णय भएको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो ।

नगरकोटमा चानपाका प्रमुख खत्री, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायणका प्रशासकीय प्रमुख हीरामणि सुवेदी, मण्डन देउपुरका प्रशासकीय प्रमुख लोकबहादुर लोप्चान, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नबिन गुरुङ, चानपा–६,७,८ का वडाअध्यक्षहरु क्रमशः धनबहादुर लामा, श्यामकृष्ण नायजु, जनक खत्री, मण्डन दे.न.पा १ र २ वडाध्यक्षहरु शिवप्रसाद ढकाल, राजकुमार मल्ललगायतले नगरकोटको बिकासमा एकताबद्ध भएर जान सहमत भएका छन् ।

नगरकोटका पर्यटन व्यवसायी गोकूल लामिछानेले दुबै नगरपालिकाबीच भएको सहमतिले नगरकोटको पर्यटन बिकासमा कोल्टो फेर्ने अपेक्षा राखिएको बताउदै नगरकोटसँग सिमाना जोडिएका तीन वटै जिल्ला यसमा लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भक्तपुर हुदै नगरकोट आउने सडक छिटो निर्माण सम्पन्न गर्न पनि सबै निकायले दबाब दिनु पर्ने बताउनु भयो । सडककै कारण पछिल्लो समय भक्तपुर नगरकोट आउने पर्यटक घटेर अन्यत्र गएको गुनासो गर्दै पर्यटन व्यवसायीलृे सडक र पूर्वाधारको बिकासमा ध्यान दिन सके स्थानीयस्तरमा रोजगार प्रबद्र्धन गर्न टेवा पुग्ने बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।