
-रमेश गिरी
भक्तपुर, २४ पुस : तपाई जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जादै हुनुहुन्छ ? जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिन अब तपाईलाई १५ मिनेटदेखि ४५ मिनेट भन्दा बढी समय नलाग्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरका सेवाग्राहीलाई प्रशासनले प्रदान गर्ने कुनै पनि सेवा लिन झन्झट व्यहोर्नु नपरोस, छिटो छरितो रुपमा सेवा प्रदान गर्न सकियोस, सेवाग्राहीले सहज र समयको वचत भएको महसुस गरुन भन्ने उदेश्यले जिल्ला प्रशासनका टाइम कार्ड अर्थात समय तालिका लागू गर्नु भएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेका हौँ, गत शुक्रबारबाट यसको शुभारम्भ गरेपनि आजबाट यसको प्रभावकारी कार्यान्वयनमा ल्याएका छौँ, अब जिल्ला प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहने गरि प्रत्येक सेवालाई मिनेट नै तोकेर सेवा प्रवाह गर्न थालेका छौँ ।”
उहाँका अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेट भित्रै नागरिकता उपलब्ध गराउने, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसी लगायत सिफारिसका लागि १५ मिनेट, राहदानीको इनरोल्मेन्टका लागि ३० मिनेट, राहदानी वितरणका लागि १५ मिनेटको समय तोकिएको छ ।
त्यस्तै राष्ट्रिय परिचय पत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचय पत्र वितरणका लागि १५ मिनेट, मुद्दा पेशी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाण पत्रका लागि ४५ मिनेट, पेन्सन सिफारिसका लागि १ घण्टा, हातहतियार नवीकरणका लागि ३० मिनेटमा सेवाग्राहीलाई सेवा उपलब्ध गराईसक्ने गरि टाइम कार्ड निर्धारण गरिएको छ । मुद्धा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरि समय निर्धारण गरिएको छ ।
प्रजिअ शर्माले सेवा प्रवाहलाई थप विश्वासिलो र प्रभावकारी बनाउन टाइम कार्ड लागू गरिएको बताउदै छिटो र छरितो सेवा प्रवाहका लागि कर्मचारी व्यबस्थापन सोही अनुरुप गरिएको बताउनु भयो । सेवाग्राहीको गुनासो नआउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएको र गुनासो आएमा तत्कालै सुनुवाई गरिने पनि बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधव प्रसाद शर्माले जिल्लाको प्रमुख सरकारी कार्यालयमै ढिलासुस्ती भएको गुनासो नआओस र जनताले सहज सेवाको अनुभूति गर्दै राज्यको उपस्थितिको महसुस गरुन भनेर पहिलो पटक प्रशासने टाइम कार्ड लागू गरिएको बताउनु भयो ।
उहाँले सबैले देख्ने गरि कार्यालयमा टाइम कार्ड लागू गरिएको बोर्ड समेत राखिएको बताउनु भयो । टाइम कार्ड लागू भएपछि यसले कर्मचारीलाई समेत थप जिम्मेवारी बनाएको बताउदै उहाँले समय व्यवस्थापनको दृष्टिले पनि यो सेवाप्रवाहका लागि बैज्ञानिक भएको बताउनु भयो ।
आवश्यक कागजपत्र पुरा नभएका सेवाग्राहीलाई आवश्यक कागजपत्र के के चाहिन्छ, जानकारी गराएर र्फकाइने र कागजजात पुरा भएका सेवाग्राहीले तोकिएको समय भित्रै सेवा पाउने सुनिश्चितता प्रशासनले गरेको छ ।
त्यसबाहेक अपाङ्गता भएका, असक्त, जेष्ठ नागरिक, दुधे बच्चा बोकेको महिला लगायतलाई टाइम कार्डभन्दा पनि प्राथमितामा राखेर पहिलो सेवा प्रवाह गरिने भएको छ । कार्यालयमा आउँन नसक्ने अशक्त, अपाङ्गता भएका नागरिकका लागि भने प्रशासनले घरमै पुगेर सेवा प्रवाह गर्दै आइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लाका अन्य सरकारी कार्यालयले पनि टाइम कार्ड लागू गरेर सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने व्यबस्था गर्नु पर्ने सेवाग्राहीको माग छ । सेवा लिन पुग्नु भएका भक्तपुरका युवराज घिमिरेले भन्नुभयो, “प्रशासनको यो काम साहै्र सहनीय छ, बल्ल देशमा सरकार भएको अनुभूति भयो, अब अरु सरकारी कार्यालयले पनि यस्तै व्यबस्था गर्नु पर्यो ।
मालपोतदेखि यातायात कार्यालयमा दिनै माया मारेर घण्टौ लाइन बसेर सेवा लिनु पर्ने व्यबस्थाको अन्त्य गरेर टाइम कार्ड लागू गर्न सके आम जनताले सरकार भएको अनुभूति, गर्न सक्छन् ।” सेवा लिन प्रशासन आउने अधिकांश सेवाग्राहीले प्रशासनको टाइम कार्ड एकदमै राम्रो र सहज भएको भन्दै सबै कार्यालयमा यस्तो व्यबस्था गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनु पर्ने बताएका छन् ।