
काठमाडौं, २४ पुस । पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताउनुभएको छ । उहाँले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ देखि मन्त्रीहरु यस विषयमा गम्भिर हुने आफ्नो विश्वास रहेको बताउनुभयो ।
नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समितिको बैठकमा महासंघका सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँडले सबै मिलेर वर्तमान संकटबाट मुलुकलाई बचाउनुपर्ने बताउनुभएको छ ।
‘उद्योग व्यवसायीहरु, बैंक वित्तियदेखि सबै क्षेत्र संकटमा छ । त्यसैले यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन ।’ उहाँले बताउनुभयो,‘यो समस्यामा सरकारविरुद्ध अभियान होइन । अन्तर्राष्ट्रिय जगतमा भएको आर्थिक संकोचका कारण सबैमा चुनौती छ । नयाँ सरकार बने पनि नेतृत्वको अनुभव भएको व्यक्ति सरकारमा रहेकाले सहकारीको विषयलाई उहाँले गम्भिरतापूर्वक लिनेहुन्छ भन्ने मेरो विश्वास छ ।’
त्यसैगरी पूर्व मन्त्री तथा महासंघका सल्लाहकार गणेश साहले तत्काल समाधान गर्नुपर्ने समस्या र दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने चुनौतीहरुमा आफ्नो साथ रहने बताउनुभयो । पूर्व मन्त्री तथा महासंघका निर्वतमान अध्यक्ष केशव बडालले सहकारीको विषयमा नीति निर्माता, दलका नेताहरुलाई बुझाउनका सबैजना एकताबद्ध भएर जुट्नुपर्ने बताउनुभयो ।
पूर्व गृहराज्य मन्त्री तथा महासंघका सल्लाहकार दीपक बास्कोटाले सहकारीले राम्रो राजश्व बुझाएका छन् संकटको समयमा राज्यले सहकारीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले राष्ट्रिय सहकारी बैंकमार्फत सफ्ट लोन दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले केहि समयका लागि बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संस्था दर्ता रोकेर व्यवस्थापन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘सहकारी अनुगमनको जिम्मेवार सहकारी विकास बोर्डलाई दिने र उसले महासंघसँगको सहकार्यमा अनुगमन गर्ने कार्य गर्नुपर्छ ।’
सल्लाहकार डा. उषा झा र सल्लाहकार रविन्द्र केसीले सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउनुपर्ने र जोखिम व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदरमा सन्दर्भ ब्याजदरको रुपमा रहेको क्यापिङ सिस्टम हटाउनुपर्ने, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने, ऋण असुलीका लागि प्रभावकारी भूमिकाका लागि तत्काल राज्यबाट सहयोग चाहिने बताउनुभएको थियो ।
महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा संचालक खेम पाठक, संचालक राजेन्द्र पौडेलले सहकारीको वर्तमान अवस्थाको विषयमा सल्लाहकारहरुलाई जानकारी गराउनुभएको थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको नीति, कार्यक्रम तथा गतिविधिहरुको विषयमा प्रस्तुती गर्नुभएको थियो ।