
काठमाडौँ, १८ फागुन ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाडौँ– ५ का सांसद पौडेलले बिहीबार उक्त क्षेत्रको विकासका लागि ७ विषयमा केन्द्रित रहेर मेयर शाहसँग कुराकानी गरेका हुन् ।
सांसद पौडेल र मेयर शाहबीच कलंकीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउने विषयमा कुराकानी भएको थियो ।
साथै मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने विषयमा कुराकानी भएको पौडेलले बताउनुभयो । हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने र यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने विषयमा पनि कुराकानी भएको बताउनुभयो ।
धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने विषयमा पनि कुराकानी भएको सांसद पौडेलको सचिवालयले जानकारी दिएको छ।