
काठमाडौं,चैत २ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध प्रतिस्पर्धा गर्दा नेपाललाई जितको विकल्प छैन । किनकि, आईसीसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिमले मात्र जिम्बाब्वेमा आउँदो जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
नेपाल अहिले ३५ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा छ । त्यो तेस्रो स्थानको नामिबियाभन्दा एक अंकले पछाडि हो । बिहीबार यूएईलाई पराजित गरे नेपालको ४० अंक हुनेछ । र तेस्रो स्थानमा रहेर जिम्बाब्वेको टिकट पक्का गर्नेछ । अन्यथा, नेपाल प्लेअफबाट गुज्रिनुपर्नेछ ।
अंक बाँडे नामिबिया र नेपालको समान ३९ अंक हुनेछ । नेपाल क्रिकेट संघ ९क्यान०का क्रिकेटिङ म्यानेजर विनोद दासका अनुसार त्यसो हुँदा पहिले धेरै जित्ने टिम अगाडि हुनेछ । त्यसपछि ‘हेड टु हेड’ हेरिनेछ । र, त्यसपछि मात्र रनरेट हेरिनेछ । सबै कुरामा नेपाल नामिबियाभन्दा पछाडि छ ।
नामिबियाले प्रतियोगितामा १९ खेल जितेको छ । नेपालले अहिलेसम्म १८ खेल जितेको छ । ‘हेड टु हेड’मा नामिबियाले तीन खेल जितेको छ भने । नेपालले दुई खेल जितेको छ । एक खेल नतिजाविहीन बनेको थियो ।