
२१ श्रावण । काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको सहभागिता बढाउने योजना बनाइएको कामपाले जनाएको छ । अहिले कामपामा झण्डै २५ संस्थाले फोहरमैला सङ्कलनको काम गरिरहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । यी संस्था कामपामा दर्ता भने नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यी संस्थालाई दर्ता गरेर प्रक्रियामा ल्याई फोहरको जिम्मेवारी दिने योजना छ ।”
कामपामा अहिले झण्डै एक हजार दुई सय कुचिकार रहेकामा घटाउँदै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताउनुभयो । फोहरमैला सङ्कलनकै लागि नयाँ कर्मचारी नथप्ने कामपाको योजना रहेको जनाइएको छ । त्यसो त पहिलेभन्दा अहिले फोहरमैलामा काम गर्न चाहनेको सङ्ख्या घटिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरू काममा आकर्षण भए पनि फोहरमैलामा काम गर्न चाहनेको सङ्ख्या घट्दै गइरहेको छ ।”
निजी घरबाट पैसा लिएर फोहर सङ्कलन गर्दै आएका संस्थाको कामपासँग समन्वय र सहकार्य बढाउन दर्ता प्रक्रियामा लान लागिएको कामपा, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्का्तिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको उहाँको भनाइ छ ।