भक्तपुर, १ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेलाको सुरु भएको छ । आज साउन १ गतेदेखि भदौ ६ गतेसम्म चल्ने मेलामा आज स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्राको सुरु गरि मन्दिरमा आएर समापन गरि मेलाको शुभारम्भ गरिएको थियो ।
कलश यात्रासँगै आज डोलेश्वर महादेव मन्दिरको मुलद्धारको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । सूर्यविनायक नगरपालिकाको ६८ लाख रुपैयाको लागतमा निर्माण भएको डोलेश्वर मन्दिरको मुलद्धारको उद्घाटन गर्दै नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चाले यहाँको पहिचान बढाएको बताउनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिकामा रहेको शिवालयहरुमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरिरहेको बताउनुभयो । सूर्यविनायक नगर क्षेत्र आफैमा एक आकर्षक पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै उहाँले यहाँको शिवालयहरुलाई समेटेर एकै दिनमा १ देखि १० वडासम्म रहेको शिवमन्दिरहरुमा घुम्न सकिने गरि रुट तय गर्दै नगरपालिकाले शिव सर्किटको निर्माण गरेको बताउनु भयो ।
यसले सूर्यविनायकलाई विश्वभर चिनाउन, धार्मिक पर्यटनको बिकास गर्न र यहाँको आयस्तर उकास्न ठूलो टेवा पुर्याउने बताउनुभयो । नगरपालिकाले यहाँको बिकासमा थप बजेट विनियोजन गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सूर्यविनायक नगरपालिकामा डोलेश्वर लगायत यहाँ रहेको आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरलगायतका प्रसिद्ध शिवालयहरु रहेकाले यस क्षेत्रलाई नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको बिकासको रुपमा अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउदै दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यबस्था गरिएको बताउनुभयो । उहाँले डोलेश्वर लगायत यहाँका शिवालयहरुमा दर्शनार्थीको भीड लागेकाले सबै क्षेत्रमा सुरक्षाको व्यबस्था गरिएको बताउनुभयो ।

आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । साउने संक्रान्ति तथा सोमबारे औशीसमेत परेकाले पनि दर्शनार्थीको भीड लागेको हो । मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरि व्यबस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको उहाँले बताउनुभयो ।
डोलेश्वरमा ३८ दिने मेला अवधीभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिदै समितिका अध्यक्ष बस्नेतले श्रावणी मेलामा शनिवार र सोमबार दर्शनार्थीको अत्याधिक घुईचो हुने भएपनि ती दिनमा लाइन बसेको एकघण्टा भित्र दर्शन एवं पूजा गरिसक्ने गरि व्यबस्थापन गरेको उहाँले बताउनुभयो ।
उहाँले विगतका वर्षहरुमा धर्मावलम्बीहरुबाट संकलन भएको भेटी तथा चन्दाबाट श्रावणी मेलामा खर्च कटाएर करिब ५० लाख वचत गर्दै आएकोमा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यसवर्ष भेटी तथा चन्दा गरेर एक करोड २५ लाख संकलन हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

मन्दिरमा पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चसनानका सामग्रीहरुको रु. ११ सय रुपैयाको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्न सक्ने व्यबस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताउनु भयो ।
आज दिनभरको मेलासँगै भोली २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखी भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने बताउनु भयो । २०६६ साल भदौ यस मन्दिरलाई केदारनाथको शीर घोषणा गरेको दिनकोृ अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ ।
डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भदौ ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ ।

त्यसैगरि सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकांक्षा पुरा गर्ने मन्दिरको रुपमा लिईने यस मन्दिरमा दर्शन एवं पुजा गर्न दर्शनार्थीका भीड लागेको छ । त्यसैगरि दत्तात्रय मन्दिरमा पनि दर्शामर्थीको भीड लागको छ । भक्तपुरका गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लगको छ ।