
भक्तपुर, ७ साउन । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि चाँगुनारायण नगरपालिकाले खोप तथा उपचार अभियान सञ्चालन गरेको छ ।
कृषि क्षेत्रमा आधारित चाँगुनारायण नगरपालिकामा कृषि र पशुपालनमा आत्मनिर्भर यहाँका अधिकांश किसानको गाई पालन रहेको र यहाँका ८० प्रतिशत गाई लम्पी स्किनबाट प्रभावित भएपछि नगरपालिकाले खोप तथा उपचार अभियान सुरु गरेको हो ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले यहाँका अधिकांश बासिन्दाको घरघरमा गाईभैसी पालन रहेकोमा अधिकाशको घरमा लम्पी स्किन रोगले गाई मर्ने, बिरामी हुन थालेपछि नगरपालिकाले अभियान सञ्चालन गरेको बताउनु भयो ।
“एक महिना अगाडिदेखिनै यो रोगको महामारी फैलिएको थियो, हाम्रो तर्फबाट रोग नियन्त्रणका लागि सक्दो प्रयास गर्यौ, यहाँका ८० प्रतिशत गाई यो रोगबाट प्रभावित भएका छन्”, नगर प्रमुख खत्रीले भन्नुभयो, “लम्पी स्किन फैलिनबाट रोक्न र उपचार गर्न हामीले वडावडामा, गोठगोठमै पुगेर पशु चिकित्सक एवं प्राबिधिक टोलीले निःशुल्क खोप लगाउने र उपचार गर्ने कार्यको थालनी गरेका छौँ ।”
नगरपालिकाको पशुपंक्षी विकास शाखाले लम्की स्किन रोग नियन्त्रणका लागि प्राबिधिक टोली खटाएर एक हजार पाँचसय खोप लगाएको बताउनु भयो । शाखाका चिकित्सकसहितको प्राबिधिक टोलीले वडावडामा घुम्ती शिविरनै सञ्चालन गरेर गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरि किसानलाई लम्की स्किन रोगबारे जनचेतनामूलक जानकारी गराएको छ ।
नगर प्रमुख खत्रीसहित वागमति प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले एकसाता अगाडि वागमति प्रदेशका पशुपंक्षी मन्त्री डा. राजेन्द्र श्रेष्ठसँग भेट गरि लम्पी स्किन रोग नियन्त्रणका लागि पर्याप्तमात्रामा खोप एवं औषधिको व्यबस्था गर्न र पीडित किसानलाई तत्काल राहतको व्यबस्था गर्न माग गर्नु भएको थियो ।
महामारी नियन्त्रणका लागि नगरपालिकाले २४ सै घण्टा सेवा उपलब्ध गराउने व्यबस्था गरेको भन्दै उहाँले यो रोगबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
धेरै जसो किसानले पशु बिमा नगराएको र पशु बिमा गराउनु पर्छ भन्ने ज्ञान नहुँदा किसानले यो रोगबाट लाखौको क्षति व्यहोर्नु परेको छ । समयमै खोप नआउँदा महामारीले चरम रुप लिएपछि घरघरमा पालेका गर्भवति गाईदेखि दूध दिइरहेको गाइहरु समेत मरेका छन् ।
पुश बिमा गराएकाहरुले पनि बिमा कम्पनीबाट सहज रुपमा क्षतिपूर्ती नपाउँदा समस्या परेको छ । पशु बिमाको रकम किसानलाई बिमा कम्पनीले उपलब्ध गराउन समेत नगर प्रमुख खत्रीले आग्रह गर्नु भएको छ ।