भक्तपुर, १९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले अनुगमनको क्रममा फार्मेसी विषय अध्ययन नै नगरेको जनशक्ति राखेर अनियमित रुपमा भक्तपुर अस्पतालको कम्पाउण्ड भित्र औषधि पसल सञ्चालन गरेको भन्दै बन्द गराएको २४ घण्टा पनि नबित्दै साझाले पुन सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रको नेतृत्वमा मन्त्रालयका महाशाखा प्रमुख डा. मदन उपाध्याय, स्वास्थ्य मन्त्रालयका वरिष्ट मेडिकल सुपरिटेण्डेन्ट डा. पवन शाहलगायतको टोलीले बिहिबार अपरान्ह अस्पताल र यहाँ भित्र सञ्चालित औषधि पसल (फार्मेसी)को अनुगमन गर्दै साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसलको सटर लाएर बन्द गराएको थियो ।
अनुगमनका क्रममा भक्तपुुर अस्पतालको कम्पाउण्ड भित्र २०५४ सालदेखि सञ्चालनमा रहेको र विगतदेखि वर्तमान्सम्मका अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले पटक पटक पत्राचार गरेर आफ्नो कम्पाउण्डबाट औषधि पसल हटाउन निर्देशन दिए पनि वर्षौदेखि अटेर गर्दै आएको थियो ।
अस्पताल कम्पाउण्ड भित्र अस्पतालको आफ्नै औषधि पसलबाहेक अरु औषधि पसल सञ्चालन गर्न नपाउने सरकारको नियम विपरित साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अर्को आदेश नभएसम्मका लागि सञ्चालन नगर्न निर्देशन दिदै अनुगमन टोलीले बन्द गराएको पनि २४ घण्टा पनि नबित्दै पुन सचालनमा ल्याएको हो ।
विगतका अस्पताल प्रशासनसँग आफू अनुकुल सम्झौता गर्दै आए पनि विगत १० वर्षदेखिका मेसु र हाल अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले समेत साझालाई अस्पतालको भवन छाडेर जान पटक पटक पत्राचार गर्दा पनि अटेर गरि औषधि पसल सञ्चालन गर्दै आएको छ ।
त्यस स्थानमा अस्पतालले आफ्नै औषधि पसल सञ्चालन गर्ने, बिमाका विरामीलाई छुट्टै औषधि लिने ठाउँको व्यबस्था गर्नका लागि पटक पटक अस्पताल प्रशासनले पत्राचार गर्दा पनि अटेर गरि अस्पतालको औषधि पसललाईनै प्रतक्ष्य असर पर्ने गरि साझाले पसल सञ्चालन गर्दै आएको छ ।
अस्पतालले आफ्नो फार्मेसीमा विरामीलाई सस्तो एवं छुटमा औषधि बिक्री गर्दै आएको, निःशुल्क उपलब्ध हुने औषधि दिदै आएको तर साझाले नाफा लिएर औषधि बिक्री गर्दा बिरामी समेत मारमा परेको भन्दै बिरोध हुदै आएको थियो ।
अनुगमन टोलीले अस्पतालले दिदै आएको सेवाको समेत निरिक्षण गरेको छ । अस्पतालको फार्मेसी, आकस्मिक कक्ष, प्रसुती वार्ड, आईसियू, बिरामी कुरुवा घर, विरामीलाई प्रदान गर्दै आएको सेवाको प्रतक्ष्य निरिक्षण गरेको थियो ।
अस्पतालको अनुगमनका क्रममा डा. मिश्र, डा. उपाध्याय, डा. शाहलगायतले भक्तपुर अस्पतालमा विरामीले पाएको गुणस्तरीय सेवा प्रवाह अत्यन्तै राम्रो रहेको बताउनु भयो । भक्तपुर अस्पतालको सेवाले निजी अस्पतालमा धाउन नपर्ने अबस्था ल्याएको भन्दै अस्पतालको मेसु, प्रशासन र कर्मचारीको कामप्रतिको लगनशीलताको प्रशंसा गर्नु भएको थियो ।
अस्पतालमा मेसु भएर आएपछि डा. गौतम र अस्पताल बिकास समितिका अध्यक्ष रमण कायस्थले सेवा बिस्तार गर्ने, सहज र गुणस्तरीय सेवा प्रवाह गर्ने, २४ सै घण्टा सेवा प्रवाह गर्ने, अधिकांश उपचार यहीँ अस्पतालमा गर्ने गरि व्यबस्था गरेपछि अस्पतालमा बिरामीको चाप दैनिक ८०० देखि ११०० सम्म पुग्दै आएको छ । अनुगमन टोलीले भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक कम्युनिटी अस्पतालसमेतको अनुगमन गरेको थियो ।