भक्तपुर, ३ भदौ : बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका एक युवकको आज रहस्यमय ढंगले मृत्यु भएपछि गृहमा तोडफोड भएको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आज बिहान रहस्यमय ढंगले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरि तोडफोड गरेपछि दिनभर तनाब ग्रस्त बनेको हो ।
बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्यु पछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घट्नाको निष्पक्ष छानबिन गर्नु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ती दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्धाका कारण सुधार गृहमा राखिएका बस्नेतको आज बिहान अचानक बेहोस भएपछि उपचारका लागि गट्टाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
मृतकको बाया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको तर बेहोसको कारण खुल्न नसकेको भन्दै घट्नाबारे आवश्यक छानबिन गरिरहेको बताउनुभयो । मृतकको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको जानकारी दिदै घट्नाको प्रारम्भिक अनुसन्धानमा शंकास्पद नदेखिएको तर पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढ्ने उहाँले बताउनुभयो ।
सुधार गृहले आज परिवारलाई मृत्यु भएको खबर दिएपनि मृत्युको कारण पुष्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घट्नाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ती दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
घट्ना पछि आजै अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
प्रजिअ रिजालले घटनाको अनुसन्धान तथा छानविन गरि सत्य तथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेको जानकारी दिनुभयो ।
प्रजिअ रिजालले भन्नुभयो, “समितिलाई सात दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेका छौँ, मृतकका परिवारसँग पनि छलफल भयो, मृतक पक्षसँग सत्यतथ्य अनुसन्धान गर्ने र उनीहरुको जाहेरी प्रहरीले दर्ता गर्ने सहमति भएको छ ।”
सुधार गृहका इन्जार्च सन्तुलन देशेमरुले मृतक बस्नेत हिजो साँझ खाना खाएर सुतेको तर राती उठेर ज्वरो आयो भन्दै औषधि मागेर खाएको जानकार िदिनुभयो । औषधि खाएर सुतेपनि बिहान बेहोस भएपछि तत्कालै नजिकैको नागरिक अस्पताल लगेर उपचार गर्ने क्रममै मृत्यु भएको उहाँले बताउनुभयो । ज्वरो आएपछि हिजोनै नेपाली सेनामा रहेका मृतकका दाजुलाई समेत बिरामीकोबारेमा जानकारी दिएर बोलाएको उहाँले बताउनुभयो ।
यूसेप नेपालको व्यबस्थापनमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरु रहेका छन् । यहाँ २१० जनाको क्षमता रहेपछि बिभिन्न अपराधका घट्नामा परेर सुधार गृहमा रहेका ४३ जना केटी र २५७ जना केटा गरि हाल ३०० बन्दी रहेका यूसेप ननेपालका निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।
बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भएपनि १८ उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यबस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका केटा केटीसमेत रहेका छन् । सुधार गृहमै खाने, बस्ने, खेल्ने, पढ्ने लगायतको सुबिधा सरकारले दिएको छ । सुधार गृह भित्रै रहेको विद्यालयमा कक्षा १० सम्मको अध्ययन हुने गरेको निर्देशक सुवालले जानकारी दिनुभयो ।