
भदौ ५,काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।
पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिए ।
यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्नुहुने जनाइएको छ ।