भक्तपुर, ७ भदौ :राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा भएको घट्नाकोबारेमा जाचबुझ गर्न अनुगमन गरेको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको भदौ ३ गते सुधार गृहमा भएको मृत्यु र ४ गते सुधार गृहबाट बालबालिका भागेको तथा झडप भएकोबारेमा जाझबुझ गर्न आज आयोगको टोली सानोठिमीस्थित सुधार गृहमा स्थलगत अनुगमन गरेको हो ।
आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिनुभयो । आयोगको अनुगमनमा बालसुधार गृहको अनुगमन गरि त्यहाँ रहेका बालबालिका, बालसुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानविन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानविन समितिका सदस्यसँग प्रत्यक्ष भेटेर जानकारी लिएको थियो ।
प्रवक्ता पोखरेलका अनुसार बालसुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवम् सुधारगृहका कमाण्डरले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावका कारण मृत्यु भएको अनुगमनबाट पाइएको छ ।
आयोगका टोलीले सुधार गृहमा भएको भएको तोडफोड र त्यहाँबाट बालबालिका भागेको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारको ध्यानाकर्षण समेत गराएको छ । आयोगले आज विज्ञप्ती जारी गरि घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिंदै बालसुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगले बालसुधार गृहका बालकको समूहले गत सोमबार ढुंगामुढा तथा तोडफोड गरी सुधार गृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै १० जना सम्पर्कमा आउन बाँकी रहेको जनाएको छ । बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुन पनि सरकारलाई आग्रह गरेको छ ।