हामीसँग जोडिनुहोस

पार्टी बलियो बनाउन युवा कांग्रेसको गठन आवश्यक : काँग्रेस नेता महर

1 मिनेट
काठमाडौँ ८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याउनुभएको छ । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुसँग आज भएको छलफलमा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
“पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस”, उहाँले भन्नुभयो ।
युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसका काम गर्न चाहना राखेर नेताका लागि पाठशालाका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने उहाँको अवधारणा छ ।
“पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो मुद्दा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
विसं २०५१ सालको मध्यावधि निर्वाचनपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्यूँताइएको स्मरण गर्दै नेता महरले अहिले पनि युवा कांग्रेस बनाउनु आवश्यकता भएकोमा जोड दिनुभयो ।
“विसं २०५१ सालपछि पार्टीमा संकट देखियो । त्यसपछि तरुण दलका कारण कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । विसं २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँदछु ।”
पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत त्यसको उठान गर्न सकिने उहाँको विश्वास छ । राजनीतिक दलका नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने तालिम केन्द्रका रुपमा युवा कांग्रेसलाई बिकास गर्न सकिने उहाँको भनाइ छ । उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका लागि पनि युवा कांग्रेस पार्टी प्रवेशको द्वार बनाउन सकिने  बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।