भक्तपुर, ८ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाधेर अगाडि लैजानु जरुरी रहेको बताउनु भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उहाँले देशमा कुनैपनि बाहनामा साम्प्रदायिक द्धन्द्ध भडकाउन खोज्ने तत्वप्रति आमनागरिक सचेत हुनुपर्ने बताउनु भएको हो ।
सदयौदेखि देशमा बिभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रुपमा धेरै जातजाती, भाषाभाषी, वर्ग, धर्म, साँस्कृतिक परम्परा सबै एकतामा बाधिदै आएको बताउदै उहाँले यस्तो एकता खलबल्याउने, समाज भाड्ने काम कहिकतैबाट हुनु नहुनेमा जोड दिनुभयो ।
“देशमा सबै जातजाती, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध भएर आएको देश हो यो, यहाँ कुनै जातजाती, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्धन्द्ध छैन,” उपप्रधान एवं रक्षामन्त्री खड्काले भन्नुभयो, “यो वा त्यो बाहनामा कसैले जातीय, साम्प्रदायिक द्धन्द्धको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको बिकासको आकांक्षालाई पुरा गर्न एक भएर लाग्नुपर्छ ।”
संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै बिकासको अभियानलाई पुरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो । बिकासका लागि बिभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरि एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरि ब्यवस्थित रुपमा बिकासका योजना अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
जनप्रतिनिधिलाई कुनैपनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिदै उपप्रधान एवं रक्षामन्त्री खड्काले भन्नुभयो, “तपाईहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डर मुक्त हुन्छ, भय मुक्त हुन्छ, अनि त्यसबाट ताकत आएँछ तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र शुसासन आउँछ, हो, त्यही अभियानमा हिड्नु पर्छ ।”
देशको अर्थतन्त्र अहिले ऋणात्मक रहेको अबस्थामा सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अबस्था नहरेको भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल बजेट सुधारका लागि लागिरहनु भएको र सरकारले आर्थिक उन्नतीको बिकासमा लागेकोले यो समस्या धेरै नरहने बताउनुभयो ।
उपप्रधान एवं रक्षामन्त्री खड्काले भन्नुभयो, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धी हासिल गर्दै जनताकै मतबाट निर्वाचित भएर आएका हौँ, जनताको मौलिक हक, अधिकार, बिकासका लागि समिक्षा गर्दै संविधानको कार्यान्वयनसँगै जनताबाटै चुनिएर सरकार, संसदमा, प्रदेशमा र स्थानीय तहमा आएको हौ भन्ने हेक्का सधै राख्न जरुरी छ ।” उहाँले छालिङ्ग जाने सडकको बिस्तारदेखि स्मार्ट सिटीको निर्णय नहुँदा जनताको परेको समस्याकाबारेमा सम्बन्धित निकायसँग छलफल गरि समस्याको निकास निकाल्न पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापाले सम्बृद्ध नेपाल बनाउने संकल्पका साथ अगाडि बढेको बताउदै यहाँको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता र त्यसपछि सडकलाई प्राथमिकतामा राखेर जानु पर्ने औल्याउदै यहाँको सडकको दुराअबस्थाले कहाँ जादैछाँै भनेर अन्यौल बनाएको टिप्पणी गर्नुभयो ।
सांसद थापाले भन्नुभयो, “आगामी चार वर्षभित्र यहाँको मात्रै होइन चाँगुको सबै बाटोले पूर्णता पाओस्, भत्केको पाटी नगरकोटले छिट्टै पूर्णता पाओस्, देकोचा चाँगुनारायण, साँखु सडक, खरिपाटी ब्यारेक मत्स्यनारायण सडकले छिटो पूर्णता पाओस् ।” उहाँले देशको आर्थिक स्थिति मजबुद बनाएर बिकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वागमती प्रदेशसभाका पूर्वमन्त्री कृष्णलाल भँडेलले अनिर्णयको बन्दी बनेको स्मार्ट सिटीले गर्दा यहाँका जनताको जग्गा कित्ताकाटसमेत हुन नपाउदा घरयासी खर्च समेत गर्न नपाएको भन्दै यसको निकास राज्यले छिटो दिनुपर्ने बताउनुभयो । महादेव खोला परियोजनाको नाममा आएको बजेटले भक्तपुरमा खानेपानी सिंचाई र विद्युत उत्पादनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले वडा कार्यालय र स्वास्थ्य चौकीले सुबिधा सम्पन्न नयाँ भवन पाएजस्तै जनताले पाउने सेवामा पनि सुविधा र गुणस्तरीय हुनु पर्ने औल्याउनुभयो । काठमाडौं उपत्यका बिकास प्राधिकरणकी प्रमुख जानुका ढकालले छालिङ्ग जाने सडकको दुरावस्ता प्राधिकरणकै कारण ढिला भएको भन्दै स्मार्ट सिटी स्वीकृत भए यो ठाउँ नयाँ सहरको रुपमा बिकास हुने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले चालू आ.ब.मा विनियोजन गरेको एक अर्ब ७९ करोड बजेटमध्ये अधिकांश बिकासमै खर्च गर्ने बताउनुभयो । उहाँले यहाँको बाटोको अबस्था देख्दा दुख लागेको बताउदै चाँगुनारायणको आर्थिक, पूर्वाधार, पर्यटनको बिकास गरि सुबिधा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको क्षेत्रको बिकासमा नगरपालिकाले योजनाहरु अगाडि बढाइरहेको बताउदै जनताको माग र सुझाबका आधारमा जनप्रतिनिधि अगाडि बढेको बताउनुभयो ।
कार्यक्रमका सभापति एव. वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले नेपाली सेनोको व्यारेकदेखि छालिङ्ग जाने सडक बिस्तारमा सेनाले आफ्नो सिमानामा पर्खाल लगाईदिए आउँदो दशै अगाडिनै फटपाथसहितको सडक निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । यस वडाको ७० किलोमिटर सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको भन्दै तीन तहकै सरकारको बजेटले प्राथमिकतामा राखिदिए यस क्षेत्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।