
भक्तपुर, १६ भदौ : मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चाररात मनाईने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरबनाचको आज रातीबाट सुरु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–६ स्थित चपाचो द्यः छेःबाट सुरु भएको भैरब नाच चपाचो नास द्यः गणेश मन्दिर प्राङ्न, गार्चा गणेश मन्दिर अगाडि, थामद्यः, गुंग चिवा अगाडि र पछाडि, कुतिं चिवाः, हात्ती महांकाल, दिगु टोल, इना लाछी, लायकु, दतलय, मरुटोल, बालकुमारी पछाडि, बालकुमारी अगाडि, बाल कुमारी भैलः द्यः अगाडि, दिगु टोल भैल द्यःअगाडि, दिगु टोल नारांद्य, कृचि तिवा, कुम्हाननी, तुलंननी, नासननी, चपाचो, जंलाननी, चपाचो द्यः छेँमा रातभरि नाच प्रर्दशन गरिएको हो ।
तन्त्रमन्त्रद्धारा दैवी शक्तिको आव्हान गरि शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरब नाचमा भैरब २ जना, दा“गी २ जना र ज्यापुंगचा १ जना गरी पाच जनाको टोलीले रातभर नाच प्रर्दशन गरेका हुन् । नाचमा धांःबाजा, भुस्याः, पोंगा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।
यसवर्षको नाचमा सरगत प्रजापति ज्यापुंगःचा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात भैरब, राजन प्रजापति लु भैलः अर्थात भैरब, निरोज प्रजापति न्हापा दाँगी र नयन प्रजापति लु दाँगी बनेर नाचिरहेको स्थानीइ रामकृष्ण शंखदेवले जानकारी दिनुभयो ।
धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरुमा दुईदेखि तीनतालसम्म मात्र नचाईने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्रांगणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नु पर्ने प्रवधान रहेको छ ।
प्राचिनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुख दिन थालेको त्यसको निराकरण गर्न प्राचिनकालमा लाय्कु भैलःको रुपमा भैरब नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ ।
आर्थिक अभावकै कारण मध्यपुरमा लोप भइसकेको यो जात्रालाई स्थानीय बासिन्दाले विगत केही वर्षयता पुनः संचालनमा ल्याए पछि यसवर्ष पनि जात्रा संचालन गर्न एक महिनादेखिको तयारी गरिएको थियो भने १५ दिन अगाडिदेखि देवगण बन्नेहरुले तान्त्रिक बिधि अनुसार नाच सिकेका थिए ।