हामीसँग जोडिनुहोस

३३ वर्षपछि सञ्चालित भैरब नाच र बोडेको नीलबाराही नाच आजबाट सम्पन्न 

5 मिनेट
-रमेश गिरी
भक्तपुर, १९ भदौ । मध्यपुरथिमि नगरपालिका–६ चपाचोमा ३३ वर्षपछि यसवर्ष प्रर्दशन गरिएको लोपोन्मुख अबस्थामा पुगेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको भैलः प्याखँ अर्थात भैरव नाच आजबाट सम्पन्न भएको छ ।
मल्लाकालिन र तान्त्रिक शक्तिको आधारमा गाईजात्राको भोलीपल्ट मध्यरातीदेखि बिभिन्न टोलमा चार रातसम्म प्रदर्शन भएको नाच आजबाट सम्पन्न भएको स्थानीय श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । ३३ वर्षपछि चपाचोमा यहाँका प्रजापति समुदायले चपाचोका देवता घर अर्थात द्यो छेंँबाट प्रदर्शन गरिएको थियो ।
२०८० भैरब नाच व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिका अनुसार द्वता घरबाट निकालिएको भैरब नाच चपाचो नासः द्यो, गार्चा गणेश, थामद्यः, गुंगचिभाः, कुतिचिभाः, हात्तिमहांकाल, दिगुटोल, ईनालाछि, लायकु, दत्तलय, मरुटोल, बालकुमारी, बालकुमारी भैलः द्य, दिगुटोल भैलःद्य, कुम्हाननी, तुलंननी, नासननी, चपाच्व, जलांननी र अन्तिममा पुनः चपाच्व द्योछेंमा प्रदर्शन गरेर सम्पन्न भएको थियो । चार रातसम्म टोलको बिभिन्न रुट तय गर्दै नाच प्रर्दशन गरिएको उहाँले जानकारी दिनुभयो ।
तन्त्रमन्त्रद्धारा दैवी शक्तिको आव्हान गरि शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरब नाचमा भैरब २ जना, दा“गी २ जना र ज्यापुंगचा १ जना गरी पा“च जनाको टोलीले रातभर नाच प्रर्दशन गरेका हुन् । नाचमा धांःबाजा, भुस्याः, पोंगा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।
यसवर्षको नाचमा सरगत प्रजापति ज्यापुंगःचा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात भैरब, राजन प्रजापति लु भैलः अर्थात भैरब, निरोज प्रजापति न्हापा दाँगी र नयन प्रजापति लु दाँगी बनेर नाचिरहेको स्थानीइ रामकृष्ण शंखदेवले जानकारी दिनुभयो ।
धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरुमा दुईदेखि तीनतालसम्म मात्र नचाईने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्रांगणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नु पर्ने प्रवधान रहेको छ ।
प्राचिनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुख दिन थालेपछि यहाँका राजाले तान्त्रिक गुरु बोलाएर तान्त्रिक शक्ति जगाएर लाय्कु भैलःको रुपमा भैरब नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ ।
थिमि भैलः प्याखँ यसवर्ष ७ जना गुरुहरुले १५ दिन नाच सिकाएको प्रजापतिले जानकारी दिनुभयो । गुरु सन्तकुमार प्रजापति, तेजकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापति तीनन सातासम्मम नाच सिकाउनु भएको थियो । भैलः प्याखँमा अरु देवगणसँग मुकुण्डो धारण गर्ने भएपनि ज्यापुंगःले विना मुकुण्डो नाच्नु पर्दछ । नाचमा भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगःले देवगणलाई कपासको बियाँले हान्ने गर्दछ ।
प्राचिन कालमा यहाँका बासिन्दालाई भूत प्रृेतले दैीनक दुःख दिए पछि राजाले तान्त्रिक गुरु बोलाएर तान्त्रिक शक्ति जगाई भैरब नाच प्रर्दशन गरेपछि भूत, प्रेतले दुःख दिन छाडेको स्थानीयवासीले पनि यो नाच नियमित चलाउदै आएको किम्बदन्ती रहेको छ ।
बोडेको प्रसिद्ध नीलबाराही नाच आजदिनभर प्रदर्शन :
त्यसैगरि मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवी शक्ति र तान्त्रिक बिधि अनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच आजदिनभर प्रदर्शन गरि सम्पन्न भएको छ ।
बोडे सहरमा भव्य रुपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलीपल्टको मध्यरातीबाट बोडेको अखा द्यों छेँ अर्थात देवता घरबाट सुरु भइ आज सम्पन्न भएको मथिनपा–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापाश्रेष्ठले जानकारी दिनुभयो । हरेक दिन मध्यरातीबाट सुरु हुने यो नाचमा बिहान टोल टोलमा देवताहरुको पूज ागर्नेको भीड लागेको थियो भने, दिनभर पनि टोलटोलमा नील बाराही नाच नाचिएको छ ।
बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाँच हो । १५ दिन अघिदेखि मूलघरमा सिकाईदै आएको यो नाच राती, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाईने उहाँले बताउनुभयो । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक
टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । दैनिक १० देखि १४ घन्टासम्म दैवी शक्तिको आधारमा परम्परागत नियममा बा“धिएर बोडेमा मनाइने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन नभएपनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने प्रजापतिले बताउनुभयो ।
नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए पछि यो नाच सुरु भएको किम्बदंन्ती एवं जनविश्वास रहदै आएको छ ।
नील बाराही नाचका पंगा बाजाका भरत लुमद्योंले भन्नुभयो—‘नाचको नियम कडा छ, देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।’ उहाँले नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको बताउनुभयो । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउ“छ भन्ने जनविश्वास अझै रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।