भक्तपुर, २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामुहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वहरुदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनु भएको छ ।

आज अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाति, भाषाभाषि, धर्म, संस्कृति, पर्व, चाँडबाँडका नाममा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनु भएको हो ।

“यस्ता चाँडबाड मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्नेहरु सलबलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।”

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु, झगडा गराएर मारामार गर्न गराउन खोज्नेह एकता बिरोधीहरुसँग सचेत हुदै यस्ता साझा चाडपर्वहरु उत्सवको रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले आफैले आफ्नो खुसी ल्याउनु पर्छ, अरुसँग खुसी सापटी खाजेर पाइदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैले ल्याउनु पर्छ, हाम्रो खुसी अरुले ल्याउदैन, हामी सबैले चाह्यौ भने हाम्रो खुसी आफै ल्याउन सक्छौँ ।”
मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण हो भन्दै उहाँले खुसी देख्न नसक्नेहरुसँग सचेत हुदै सबै खुसीले मुस्कुराउने अबस्था ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तुलसा दाहालले महिलाहरुले मनाउदै आएको तीजको इतिहास र महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्धय सोमप्रसाद मिश्र, निर्मलकुमार भट्टराई, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभा सदस्य किरण थापा, सकुन्तला श्रेष्ठलगायतका जिल्ला तथा बिभिन्न भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाती एकै ठाउँमा बसेर रमाउदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रर्दशन गरेको थियो ।


