
-रमेश गिरी
भक्तपुर, ३१ भदौ । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले विगत २३ बर्ष अघि निर्माण भएर उभिएको लौह पुरुष एवं प्रजातन्त्र सेनानी स्वं गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरण कार्यक्रमको अन्तिम तयारी पुरा गरेको छ ।
समितिले आज तयारीबारे जानकारी दिन आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माथवरसिंह बस्नेतले असार २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हुने प्रतिमा अनावरणको सम्पूणृ तयारी पुरा भएको बताउनुभयो ।
भक्तपुरको सुर्यविनायक नगरपालिकाको वडा नम्बर ५ सुवर्णेश्वर मनिदरको डाँडामा निर्माण भएको गणेशमान सिंह स्मृति वाटिकाको निर्माणसँगै उद्घाटन एवं प्रतिमा अनावरणको तयारी पुरा गरेका छौँ भन्दै उहाँले वाटिकाको गुरुयोजनालाई पूर्णता दिने काम भने निरन्तरता रहने बताउनु भयो ।

पत्रकार सम्मेलनमा अधयक्ष बस्नेतले भन्नुभयो, “वाटिकामा वि.सं.२०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको १२ सय केजीको १२ फिट अग्लो ढलोटबाट निर्माण भएको पुर्णकदको प्रतिमा असोज २ गते सिंहको २६ औं स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वाटिकाको औपचारिक उद्घाटन र सिंहको प्रतिमा अनावरण गर्नु हुनेछ ।”
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो भवन निर्माण गरेको उहाँले बताउनुभयो । २०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भएको प्रतिमा निर्माण कार्य २०५७ मै पुरा भएपनि अनावरण भने हुन सकेको थिएन ।
समितिका अध्यक्ष बस्नेतले करिब चार करोडको लागतमा अहिलेसम्म शालिक, कार्यालय एवं पालेघर, मुख्य प्रवेशद्धार, सिढँी मर्मत र बाटिकाको संरचना निर्माण गरेको बताउदै अन्य संरचनाभने निर्माणकै चरणमा रहेको बताउनुभयो । शालिक निर्माण पुराभएको २३ वष बितेपनि माओवादी द्धन्द्ध, जनआन्दोलन, परिवर्तित राजनीतिक परिवेश, कोरोना महामारीलगायतका बिभिन्न कारणले हुन नसकेको कार्यक्रम अब पुरा हुने बताउनु भयो ।
सरकारले साविकको कटुन्जे गाविसको सिफारिसमा उक्त वाटिका स्थापना गर्न कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा दिएपछि समितिले ०५५ मा समितिको कार्यालय भवन निर्माण गरेको थियो ।
पत्रकार सम्मेलनमा समितिका महासचिव कृष्णमुरारी न्यौपानेले प्रजातन्त्र सेनानी स्व.सिंहको योगदानलाई चिरस्मरणीय बनाउन वाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदहरूको जीवनीमा आधारित सामग्रीहरू संग्रह गर्ने संग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर ,पिकनिक स्पट, लगायतको निर्माण कार्य चरणबद्ध रुपमा हुने बताउनुभयो ।
उहाँले वाटिका भित्र प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे बताउनुभयो । स्व. सिंहको त्याग, योगदान र क्रान्तिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि वाटिका सार्थक बन्ने अपेक्षा राखेको उहाँले बताउनुभयो ।
समितिका संस्थापक अध्यक्ष एवं वाटिकाका परकल्पनाकार स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्व अध्यक्ष बासु र वर्तमान् अध्यक्ष बस्नेतको पूर्ण कार्यसमिति वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका बताउदै उहाँलेवाटिकामा सबै संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च हुने गरि ऐतिहासिक गुरुयोजना निर्माण गरेकाले सरकारले पर्याप्त बजेटको व्यबस्था गरेर गुरुयोजना पूर्णता दिनु मागसमेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा समितिका मदनकृष्ण श्रेष्ठ, प्रचार प्रसार समितिका निमित्त संयोजक जगन्नाथ कार्कीले कार्यक्रम सफल पार्न बिभिन्न २३ वटा समिति र बिभिन्न उपसमितिहरु निर्माण गरेको बताउदै वाटिकाको उद्घाटन, शालिक अनावरण एवं पुष्प बृष्टि राष्ट्रपतिले स्वीच थिचेपछि ड्रोनबाट गर्नेगरि तयारी गरिएको बताउनुभयो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।