भक्तपुर, । अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क (Felicity Volk)ले भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना गरिएको फोटोग्राफर सुरेशराज शाक्यको एकल ‘झिगु ख्वप’ फोटो प्रदर्शनीको आज साँझ उद्घाटन गर्नु भएको छ । विगत ३० वर्षदेखि फोटोग्राफीमा सक्रिय रहदै आउनु भएका कृपाग्राफी भक्तपुरका संस्थापक अध्यक्ष एवं सल्लाहकार फोटोग्राफर शाक्यको कात्तिक १७ गते बिहान ९ बजेदेखि सुरु हुने फोटो प्रर्दशनीको उहाँले उद्घाटन गर्नु भएको हो ।
नेपाल भोकेसनल एकेडेमीको आयोजना, कृपाग्राफीको सहयोगमा आयोजित प्रर्दशनीको उद्घाटनमा बोल्दै उहाँले फोटो प्रर्दशनीले भक्तपुरको जीवनलाई उजागर गरेको बताउनुभयो । राजदूत भोल्कले भन्नुभयो, “भक्तपुर फोटोग्राफीका लागि स्वर्गनै हो, यहाँका पाईला पाईलामा मिनेट मिनेटमा फोटो खिच्ने महत्वपूर्ण विषयहरु पाइन्छन्, यस्तो प्रर्दशनी गर्न ३० वर्ष कुर्न नपरोस, छिटो गरेर विश्वमा चिनाउन सकियोस ।”
कार्यक्रममा प्रर्दशनीका संयोजक, सम्पदा संरक्षणकर्मी एवं एकेडेमीका प्रमुुख रबिन्द्र पुरीले पहिलो पटक एकेडेमीमा एकल फोटो प्रर्दशनी गर्न पाएको बताउदै यो प्रर्दशनीले भक्तपुरको पहिचानलाई उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मूर्त सम्पदा विश्वमा देख्न पाइन्छ तर भक्तपुरमा जति अमूर्त सम्पदा विश्वमा कुनै पनि देशमा छैन, अमूर्त सम्पदालाई लोपहनुबाट फोटोग्राफीले जोगाउन र जिवन्त राख्न सक्छ । फोटोमा जस्तो ताकत बोलीमा हुदैन, एउटै फोटोले विश्वका पर्यटकलाई यहाँ तान्न सक्ने ताकत हुन्छ ।”
फोटोग्राफर शाक्यले बिभिन्न समयमा भक्तपुर नगरपालिका क्षेत्रभित्रका सम्पदा, कला, संस्कृति, जात्रा, पर्व, रहनसहन र जीवनशैलीलाई समेटेर खिचिएका तस्विरहरु प्रर्दशनीमा राखिएको छ । कार्यक्रममा कृपाग्राफीका सचिव जयराम प्रजापतिले सम्पदा, संस्कृति र भक्तपुरका नेवारहरुको जीवनशैली उजागर गर्दै ख्वप अर्थात भक्तपुरबाट अध्ययन गर्न सहज हुने बताउनु भयो ।
फोटोग्राफर शाक्यले आफ्नो एकल फोटो प्रर्दशनीले वर्षौदेखिको मिहेनतको प्रतिफल प्राप्त गरेको अनूभति भएको भन्दै फोटोग्राफीको इतिहास भक्तपुरमा पुरानो भएपनि अगाडि बढ्न नसकेको बताउनुभयो । कार्यक्रममा वरिष्ट फोटोग्राफर जगतिश तिवारीले भक्तपुरलाई चिन्न र विश्वमा चिनाउन यो प्रर्दशनी सफल हुने बताउनुभयो ।
भक्तपुर पृथक सहर भएको भन्दै उहाँले यहाँका सम्पदा, कला, संस्कृति, जीवनशैलीलाई तस्विरमा उतारेर आफूले पनि १० औ हजार फोटो विदेशीलाई बिक्री गरेर आम्दानी गर्न र तस्विर मार्फत भक्तपुरलाई विश्वमा चिनाउन सफल भएकाले यो प्रर्दशनी पनि त्यस्तै रहने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं कृपाग्राफी भक्तपुरका अध्यक्ष पदमसुन्दर शाक्यले कृपाग्राफीले यसअघि पनि भक्तपुरको दरबारस्क्वायरमा यस प्रकारको प्रर्दशनी गरेको भन्दै नयाँ पुस्तालाई समेत यो प्रर्दशनीले प्रेरणा मिल्ने बताउनु भयो । आइतबार १९ गते साँझ ५ बजेसम्म सञ्चालन हुने प्रर्दशनीमा १०० वटा तस्विर राखिएका छन् ।