भक्तपुर, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री रवीन्द्रप्रताप शाहले अहिलेको व्यबस्था र अबस्था परिवर्तन गर्दै राजा सहितको प्रजातन्त्र स्थापना गर्न राप्रपाले आउँदो फागुनदेखि आन्दोलनको आधीबेहरी ल्याउने बताउनु भएको छ ।
आज रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा बोल्दै उहाँले आउँदो फागुन महिनादेखि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता बचाउन जनताको घरदैलो जाने र चैतसम्ममा आन्दोलनको आधिवेहरी ल्याउने बताउनु भएको हो ।
देशमा भ्रष्टाचार ब्यापक बढेको, मंहगीले आकाश छोएको भन्दै उहाँले ललितानिवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, एनसेलजस्ता देशघाती काण्डहरूले देश जर्जर बनाएको बताउनु भयो । उहाँले गणतन्त्र देशका लागि लुटतन्त्र सावित भइसकेको भन्दै अबिलम्ब प्रदेश र संघीयता खारे्ज गर्दै स्वतन्त्र हिन्दु राज्य घोषणा गरि राजा सहितको प्रजातन्त्र ल्याउन अब राप्रपाको नेतृत्वमा आमनागरिकको सहभागिता सहित आन्दोलनको आधीबेहरी ल्याउने बताउनु भयो ।
सह–महामन्त्री शाहले भन्नुभयो “राप्रपाको आगामी अभियानले राष्ट्र, राष्ट्रियता बलियो बनाउने छ । देशलार्ई सिक्मिकीकरण हुनबाट जोगाउने छ । भ्रष्टाचार न्युनिकरण हुनेछ, स्वतन्त्र हिन्दु राज्य स्थापनाको लक्ष्य लिएर जनताको घरदैलोमा देशव्यापी अभियान लिएर जानेछौँ ।”
उहाँले भन्नुभयो, “मुलुकमा गणतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी अवधि भइसक्दा पनि नेपाली जनताको इच्छा, आकांक्षा पूरा हुनु त कहाँ हो कहाँ रु उल्टो भ्रष्टाचारतन्त्रको दबदबा बढेकाले जनता अहिलेको परिस्थितिमा राष्ट्र, राष्ट्रियता बचाउन अभिभावकको खोजीमा रहेको छ । त्यहीँ अभिभावकको खाँचो पूरा गर्न राप्रपाको केन्द्रीय समितिको बैठकले आउँदो फागुन महिनादेखि आन्दोलन गर्न लागेको हो ।”
सहमहामन्त्री शाहले देशै रहला कि नरहला भन्ने आशंका व्याप्त भइरहेको अवस्थामा देश र जनाताको पक्षमा राजसंस्थासहितको राजनीतिक व्यवस्थाका लागि आन्दोलन गर्ने निर्णय गर्नु अत्यन्तै सामयिक कदम भएको बताउनुभयोृ ।
उहाँले गणतन्त्रले नेपाली जनतालाई सुख र सुबिस्ता दिनुको साटो ललितानिवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, एनसेलजस्ता देशघाती काण्डहरू थुपारिदिएको उल्लेख गर्नुभयो । सहमहामन्त्री शाहले राप्रपाको आगामी आन्दोलनबाट राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको सर्वधर्म समभावको प्रणालीले देशको अहिलेको अवस्था र व्यवस्था परिवर्तन गरी जनताले चैनको श्वास फेर्ने तर्क बताउनुभयो ।
उहाँले भन्नुभयो, “राप्रपाको आगामी आन्दोलन राष्ट्र, राष्ट्रियता बलियो बनाउने छ । यस आन्दोलनले मुलुकलाई सिक्मिकीकरण हुनबाट बचाउने छ । विदेशिएका नेपालीहरू स्वदेशमै बसेर काम गर्ने वातावरणको सिर्जना हुनेछ । मूलतः राप्रपाको आन्दोलन नेपाल नेपाली जनताको हित प्रवर्धन गर्नेमा केन्द्रित हुनेछ ।”
नेपालमा जति पनि ठूल्ठ्रला राजनीतिक परिवर्तन भएका छन, त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव रहेको नकार्न नसकिने भएकाले हाम्रा दुई विशाल छिमेकी राष्ट्र चीन र भारतले राजसंस्थाको पक्षमा नबोलेतापनि ती दुई छिमेकी देशका नेताहरू हाम्रा गणतन्त्रवादी नेताहरूसँग खुशी भएको आफूले अनुभुत गर्न नसकेको बताउनुभयो । शाहले राजसंस्था स्थापनार्थ आन्दोलनमा विचार मिल्ने दल, संघसंस्था,
व्यक्तिलगायत सबैसँग कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहरी ल्याउने दाबीसमेत गर्नुभयो । उहाँले अन्त्यमा सकभर राजसंस्था सहमति र सहकार्यको आधारमा पुनः स्थापना गरौं भन्ने विचारलाई गणतन्त्रवादी नेताहरूले गम्भीरतापूर्वक लिन जरुरी भएको पनि उल्लेख गर्नुभयो ।