काठमाडौं, ७ पुस । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको महिला सदस्यमा दुर्गा तिवारी सञ्जेल निर्विरोध निर्वाचित हुनु भएको छ ।
लेखा सुपरीवेक्षण समितिको सदस्य (महिला) तर्फ २ जनाको उमेदवारी परेको थियो । परितोष पौड्याल प्यानलबाट दुर्गा तिवारी सञ्जेल र अर्का उमेदवार चन्द्र प्रसाद ढकाल प्यानलबाट शुभद्रा नेपालको उमेदवारी परेको थियो । निर्वाचन उपसमितिले उमेदवारको योग्यता नपुगेको भन्दै नेपालको उमेदवारी खारेज दिएको हो । नेपालको उमेदवारी खारेज भएपछि सञ्जेल निर्विरोध निर्वाचित हुनु भएको हो ।
लेखा सुपरीवेक्षण समितिका महिला सदस्य नेपालसंगै ढकाल प्यानलबाट उमेदवार बनेका सञ्चालक सदस्य (गण्डकी प्रदेश) शिव अधिकारी, सञ्चालक सदस्य (महिला) राधा कडरियाको उमेदवारी पनि खारेज भएको हो । गण्डकी प्रदेश सञ्चालक सदस्यमा परितोष पौड्याल प्यानलबाट किशान साकोस नवलपुरका पूर्व अध्यक्ष गोपाल प्रसाद गौतमले उमेदवारी दिनु भएको छ । उक्त पदमा रविन्द्रराज पौडेल र रामजी कंडेलको उमेदवारी परेको छ ।
यस्तै कडरियाको उमेदवारी खारेज भएपछि ३ जना महिला सञ्चालकका लागि सिता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, विद्या कोइराला र अमरावती बलामीबीच प्रतिस्पर्धा हुने भएको छ ।