हामीसँग जोडिनुहोस

लोप हुदै मल्लकालिन यःमरि माग्ने परम्परा

4 मिनेट
भक्तपुर, १० पुस : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्रर्याएको खुशियालीमा नेवार समुदायले योमरी पूर्णिमा अर्थात योमरी पुन्हि मनाउँदैछन् ।
‘यः’ को अर्थ मनपर्ने, ‘मरी’को अर्थ रोटी र पुन्हीको अर्थ पूर्णिमा भन्ने अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौदेखि रहदै आएको छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस पर्वलाई खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पीठोमा चाकु, खुवा र तिल राखेर मिठो योमरी बनाउने गरिन्छ ।
योमरी बनाउन आज बिहानदेखि घरघरका महिलाहरु व्यस्त हुने गर्दछन् । बिहान स्नान पछि घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन रहेको छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । आजको दिन धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
योमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउनुहुन्छ । योमरी पुन्ही सुरु हुनुअघि घर–घरमा भित्रयाइएको धानलाई ५–६ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट योमरी बनाएर पाथीभरि योमरी राखेर धानलाई अन्नपूर्ण देवताको रुपमा पूजा गर्ने परम्परा रहेको उहाँ बताउनु हुन्छ ।
यःमरि पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ । परम्परा अनुसार यःमरि पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरि पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन रहेको छ । यःमरिलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइने उहाँ बताउनुहुन्छ ।
योमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउँने संस्कृति पहिलादेखिनै रहदै आएको उहाँ बताउनुहुन्छ । तिहारमा द्यौसी÷भैलो खेलेझै धान्य पूर्णिमाको दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै यःमरि तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालिन प्रचलन लोपोन्मुख अबस्थामा पुगेको छ ।
आजको दिन साँझ घरघरमा गएर देउसी, भैलो खेले जस्तै गरि योमरी माग्ने प्रचलन अहिले लापोन्मुख अबस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन रहेको छ ।
‘ट्यो सिं ट्यो, ब्कसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या ।।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा ।।
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।
अर्थात
‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’
यसरी गीत गाउँदै योमरी पुन्हीमा घरघरमा गएर योमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने प्रचलन लोपोन्मुख अबस्थामा पुगेको छ । नेवार समुदायमा दान गरेर चाड पर्व मनाउने परम्परा अझै छ । आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यता अनुसार नै योमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी बज्राचार्य बताउनुहुन्छ ।
संस्कृतिकर्मी बज्राचार्यले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरि माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरि माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्को समेत पाइने बताउनुभयो । यो प्रचालनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उहाँको भनाई थियो ।
यःमरि पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाँड एवं दान पर्वको रुपमा यःमरि पून्हिमा मनाउने गर्छन् । धार्मिक विश्वास अनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुदै जाने भएकाले यो पर्वलाई समय सुचकको रुपमा लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात यःमरि पून्हिको अवसरमा दान गरे फलिफाप हुने विश्वास अनुसार दान दिने प्रचलन रहेको छ ।
किम्वदन्ती अनुसार पांचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती  भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिव ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापुर्वक आफुले तयार पारी राखेको यःमरी खुवाए ।
उनको सत्कार देखी प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती वृद्धि भयो र यःमरी खाएका कारण शरिर समेत हृष्टपुस्ट हुन थाल्यो । त्यही वेलादेखि नेवार समुदायमा यःमरि पूर्णिमाको संस्कृति विकास भएको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।