भक्तपुर, १४ पुस । भक्तपुरको अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँका ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उदेश्यले भक्तपुर नगरपालिकाले आज आयोजना गरेको साँस्कृतिक सम्पदा पदयात्रा सम्पन्न भएको छ ।
‘बाहाः बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका आज पाँच तले मन्दिर क्षेत्र टौमढीमा नगर प्रमुख सुनिल प्रजापतिले पदयात्राको उद्घाटन गर्दै भक्तपुरका कितपय सम्पदाहरुमा अझै पर्यटक पुग्न नसकेको कारण स्वदेशी मात्रै नभई बिभिन्न देशबाट भक्तपुर भ्रमणमा आउने पर्यटकलाई यहाँका सम्पदाको थप अवलोकन गराउने उदेश्यले पद्यात्रा आयोजना गरेको बताउनुभयो ।
पदयात्रा भनपा– ५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै १९ वटा बाहाः बहीहरुको परिक्रमा गरि भनपा–७ यातामा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण र प्रबद्र्धन गर्दै आएको बताउदै यस्ता कार्यक्रममा विश्वभरका पर्यटकलाई भक्तपुरमा आकर्षित गर्न टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशी, डा. पुष्परत्न शाक्य, वडाध्यक्षहरु योगेन्द्रमान बिजुक्छेँ र रबिन्द्र ज्याख्वालगायतले भक्तपुरको सम्पदा विश्वमा पहिचान बन्दै गएको बताउनुभयो ।