भक्तपुर, १० फागुन : भक्तपुर अस्पतालले पहिलो पटक आफ्नो सुबिधा सम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा बिस्तार गरेको छ ।
वीर अस्पतालपछिको दोस्रो अस्पतालका रुपमा १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसंगै नयाँ भवनबाट पनि सेवा बिस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
बेलायत सरकारको करिब ३४ करोड सहयोगमा निर्माण भएको सुविधा सम्पन्न उक्त नयाँ भवनबाट सेवा बिस्तार गरेको जानकारी दिदै उहाँले जानकारी दिनुभयो । भक्तपुर अस्पताललाई वागमति प्रदेश सरकारले स्तरबृद्धि गर्दै ३०० शैय्यामा बिस्तार गर्ने घोषणा गरेसंगै नयाँ थप शैयया सञ्चालनको समेत तयारी गर्दै नयाँ भवनमा सेवा बिस्तार गरेको मेसु डा. गौतमले जानकारी दिनुभयो ।
अस्पतालको थप स्तरवृद्धि गर्दै शैय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
पुरानो भवन निर्क साँघुरो भएपछि नयाँ प्रसुती वार्ड सुरु गरिसकेको भन्दै उहाँले अन्य अत्याधुनिक उपकरण जडानको काम भइरहेकाले अबको एक सातामा शल्यक्रिया कक्ष, १५ शैयाको आइसीयु, मोडुलार ओटी सञ्चालन गरिने बताउनुभयो । मुटुरोग सेवा पनि संचालनको तयारीसमेत गरिएको छ ।
रिफर सेन्टरको रुपमा परिणत हुदै विरामीको चाप आधा घटिसकेको यस अस्पतालमा डा. गौतम मेसु.भएर आए लगत्तै सेवा बिस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक ६०० विरामीको चाप पुगेको छ ।
१५ शैय्याबाट सेवा सुरु भई ७५ शैय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारी कालमा तत्कालिन मेसु. डा. गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शैययाको आइसियुसहित १८६ शैय्यामा सेवा सञ्चालन गरि महामारीमा विरामीको सेवा गरेको थियो ।
आफ्नै नाममा १८ रोपनी ४ आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाईटी, साझा औषधि पसल र शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालले यहाँको जमिन उपभोग गरिदिंदा भक्तपुर अस्पताल साघुरोमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको अस्पतालमा विकास समितिका अध्यक्ष रमण कायस्थले जानकारी दिनुभयो ।
उहाँले साझाले अर्बैध रुपमा अस्पताल हाता भित्र औषधि पसल सञ्चालन गरिरहेको र हटाउने प्रयास भइरहेको भन्दै रेडक्रसले समेत औषधि पसल सञ्चालनका लागि भाडामा दिन लागेको जानकारी आएकाले त्यसलाई रोक्ने बताउनुभयो । गुणस्तरीय सेवा नयाँ भवनबाट बिस्तार गरेपछि अब भक्तपुरका बासिन्दालई निजी अस्पताल धाउनु पर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो ।