
भक्तपुर, १३ बैशाख : राष्ट्रिय परीक्षा बोर्डले भोलीबाट देशभर एकैसाथ सुरु गर्ने भएको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ ।
परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउने सरोकारवाला निकाय, विद्यार्थी तथा अभिभावक वर्गमा आव्हान गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर शान्तिपूर्ण रुपमा परीक्षामा सहभागि हुन आग्रह गर्र्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन हुने भएका छन् ।
परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यबस्था गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञचालन हुने परीक्षा बैशाख २६ गते सम्पन हुनेछ ।