भक्तपुर, १९ बैशाख : विसं १९६१ सालमा चन्द्रलोक डिस्पेन्सरीका नामबाट १५ शय्यामा सेवा सुरु भएको वीर अस्पताल पछिको दोस्रो जेठो भक्तपुर अस्पताल यस वर्ष देशकै सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ ।
सरकारको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा गठन भएकोे सरकारी मूल्याङ्कन टोलीले स्थलगत रुपमा गरेको मूल्याङ्कनमा प्राप्त अंकका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९८ अङ्क प्राप्त गरी सातै प्रदेशका अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
आज भक्तपुर अस्पतालमा वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडाले आयोजना गरेको न्युनतम सेवा मापदण्ड कार्यान्वयन घोषणा कार्यक्रममा ९८ अङ्क ल्याएर भक्तपुर अस्पताल देशकै उत्कृष्ठ अस्पताल भएको घोषणा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बीर अस्पताल पछिको देशकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पताल देशभरबाटै उत्कृष्ठ बन्न सफल भएको बताउनुभयो । उहाँले यो अस्पतालबाट संघीय सरकारका अस्पतालहरुले पनि सिक्नु पर्ने बताउदै अब न्यूनतम सेवा मापदण्डमा यो अस्पताल ९८अङ्कबाट नघटी १०० अङ्क ल्याउने गरि अगाडि बढ्नु पर्ने बताउनुभयो ।
अस्पतालको बिकासका लागि मन्त्रालयले आवश्यक बजेटको व्यबस्था गर्ने बताउदै १५ शय्याबाट सुरु भएको यो अस्पताल प्रदेश सरकारले ३०० शय्यामा बिस्तार गर्दै व्यबस्थापनको तयारी गरिरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सेवाको गुणस्तर अझै बढाउन निर्देशन दिदै अस्पतालबाट निस्कने बिरामी र कुरुवाले गुनासो लिएर नभई सेवाको प्रंशसा बोकेर फर्कने अबस्था सृजना गर्न निर्देशनसमेत दिनुभयो । अस्पतालमा आवश्यक पर्ने सामग्रीको पहिचान नगरी जथाभावी मंहगा उपकरणहरु खरिद गर्ने र थन्क्याएर राख्ने प्रबृत्ति धेरै अस्पतालमा भेटिएकाले त्यसलाई पूर्ण रुपमा रोक्न मन्त्रालयले अनिवार्य रुपमा आवश्यकताको पहिचान गर्दै खुल्ला प्रतिस्पर्धाबाट मात्रै सामान खरिद गर्ने निर्णय गरेको बताउनुभयो ।
सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन मन्त्रालयले नीतिगत निर्णय गरि कार्यान्वयनमा ल्याएको बताउदै मन्त्री श्रेष्ठले भन्नुभयो, “आश्रित, लोपोन्मुख, विपन्न, अति न्यून आय भएका भएका, क र ख वर्गका अपाङ्गलगायतलाई निःशुल्क स्वास्थ्य बिमाको व्यबस्था गरेका छौँ, अहिलेसम्म यो सेवा सात हजार यस्ता परिवारलाई दिइसकेका छौं चालू आ.ब.भित्र १२ हजार परिवारमा पुर्याउने लक्ष्य राखेका छौँ ।”
उहाँले वागमति प्रदेश भित्रका अस्पतालमा ७४ प्रतिशत सुत्केरी हुने आमा र बच्चाको मृत्यु भइरहेकाले यसको कारण खोज्दै सेवालाई चुस्त बनाएर मृत्युदर घटाउनु पर्नेमा जोड दिनुभयो । अस्पताल आएका बिरामीले भोली फेरी त्यसैका लागि आउन नपर्ने गरि एकैदिन स्वास्थ्य परीक्षण, रिपोर्ट लिने र औषधि लिएर जाने अबस्था सृजना गर्न सबै अस्पताललाई निर्देशन दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले १२० वर्ष पुरोना यो अस्पताललाई स्पेशालिटी अस्पतालको रुपमा बिकास गरेर लैजान जरुरी रहेको बताउदै दरबन्दी अभाव, बजेट अभाव, कार्डियोलोजिष्ट र न्यूरोलोजिष्टको डाक्टर अभाव एवं एनेस्थियनष्टिको अभावले सेवा बिस्तारमा समस्या आएको बताउनुभयो ।
स्वास्थ्य निर्देशनालयका बरिष्ट स्वास्थ्य प्रशासन डा. नबिन दर्नालको नेतृत्वमा शुक्रराज ट्रपिकल अस्पताल प्रमुख नर्सिङ प्रशासक रोशनी तुईतुई, बीर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्मा, बीर अस्पतालका बरिष्ट कन्सल्टेण्ड डा. मिनचन्द्र अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सा शाखा प्रमुख डा. खगेश्वर गेलाल, स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख भक्तबहादुर भण्डारी, नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा कम्युनिटी नर्सिङ्ग अधिकृत नुजन शर्मा, एनएसआई वागमति प्रदेश संयोजक आहिस्था शाही, स्वास्थ्य निर्देशनालयका शुसिल आचार्य, वविता रेग्मी, फार्मेसी अधिकृत प्रकाश दुलालसहितको टिमले भक्तपुर अस्पतालमा तीन दिन लगाएर गरेको सर्वैक्षण, अनुसन्धान एवं मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ठ अस्पताल घोषणा गरिएको हो ।
कार्यक्रममा तुईतुलईले मूल्यांकनको आधारसहितको प्रस्तुतिकरण राख्दै भक्तपुर देशकै उत्कृष्ठ अस्पताल भएको घोषणा गर्दै केही सुधार गरेर १०० अंक ल्याउन सक्ने बताउनुभयो । सुरुमा ३४ अङ्क ल्याएको यस अस्पतालले कोरोना महामारीमा भक्तपुर अस्पतालकी मेसु भएर आउनु भएकी डा. गौतमले अस्पतालको सेवालाई सुधार गर्दै २०७७ मा ७४, त्यसपछि ८४ अङ्क ल्याउन सफल हुदै २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यसवर्ष ९८ अङ्क ल्याउन सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले आफू अस्पतालमा मेसु र निर्देशक भएर आएको तेश्रो कार्यकालमा पनि यस अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा उत्कृष्ठ अस्पतालाई आउने थप एक करोड बजेट घटेर ५० लाखमा खुम्चिएको भन्दै उहाँले बजेट बढ्नु पर्ने बताउनुभयो । उहाँले अस्पतालले गरेको बिभिन्न काको प्रस्तुती राखदै सेवा, जनशिक्त र उपकरण थप गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो । अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले उत्कृष्टताको पहिचान थपेसँगै अस्पताललाई अब सेवा खस्किन दिन नहुने जिम्मेवारी थपिएको बताउनुभयो ।
तत्कालीन समयमा २७ देखि ३८ अङ्कमा चित्त बुझाउँदै आएको यस अस्पतालमा मेसु डा.गौतम आएपछि अस्पतालको सेवा विस्तार र कोरोना महामारीमा उत्कृष्ट काम गरेर विसं २०७७ पुसमा भएको मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको थियो ।
कोरोना महामारीसँग जुध्दै भक्तपुर अस्पतालले आइसियु, एनआइसियु र भेन्टिलेटर सेवा सुरु गरेको थियो । अहिले अस्पतालले अधिकांश सेवा सुरु गर्नुका साथै २४ सै घण्टा शल्यक्रियासहितको सेवा विस्तार गरेको छ । पाँच वर्ष अगाडिसम्म ‘रेफर सेन्टर’का रुपमा रहेको भन्दै बिरामी नआउने यस अस्पतालले अहिले गुणस्तरीय सेवा विस्तार गरेसँगै ओपिडीमा दैनिक आठ सयसम्मको भीड र भर्ना गर्नसमेत शय्या अभावको अवस्था आउन थालेको छ ।