काठमाडौं, ८ साउन । नेकपा एमालेले बागमती प्रदेशका ६ जना मन्त्रीहरू नामावली टुङ्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा भक्तपुरका किरण थापा मन्त्री हुने भएका छन् ।
प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने र सोही मन्त्रीमण्डल बिस्तारमा भक्तपुरका किरण थापासहित अन्य नयाँ अनुहारलाई अवसरका रुपमा एमालेले मन्त्रीमा अगाडि सारेको छ । एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।
एमालेबाट मन्त्री हुनेमा भक्तपुरका थापासहित काठमाडौंका प्रकाश श्रेष्ठ, काठमाडौंकै अमन कुमार मास्के, ललितपुरका प्रेम भक्त महर्जन, सिन्धुलीका सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवालको नाम टुङ्याएको हो । उनीहरू मध्ये कसलाई कुन मन्त्रालय दिने भन्नेबारेमा छलफल भइरहेको र साभ्mा ५ बजेसम्म यसबारेमा टुङ्गो लाग्ने बताइएको छ ।
बागमती प्रदेशको मन्त्रालयको भागबन्डामा एमालेले ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय लिनेगरी सहमति भएका थियो । सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति बनेको छ ।
कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको हो ।
एमालेले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको छ ।
त्यस्तै कांग्रेसले भने दिउँसो १ बजेसम्म मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् । नयाँ मनत्रीहरुले भोली बुधबार सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।