
काठमाडौं,१४ साउन।
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दैछ। बैठक बिहान साढे ११ बजे बोलाइएको छ।
असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। समितिले उजुरी आह्वान गर्दा एक महिलाले प्रधानले आफूलाई यौनशोषण गरेको उजुरी दिएकी थिइन् ।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग छलफल गरेको थियो । साउन ९ गते प्रधानसँग छलफल गरेपछि समितिको बैठक स्थगित गरिएको थियो।
समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।
प्रधानको अवधारणा र कार्ययोजना सुनेपछि समिति सदस्यले उच्च नैतिक व्यक्ति रहनुपर्ने निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा उजुरीमा उठाइएका प्रश्नको स्पष्टीकरण माग गरे।त्यसपछि प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदले आफ्ना शीर्ष नेतासँग छलफल गरेका थिए।