-रमेश गिरी
भक्तपुर, १४ साउन । अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाहरुले औल्याएका छन् ।
नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारकाबारेमा सञ्चारकर्मी एवं सञ्चार माध्यमका लागि आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताईएको हो ।
कार्यक्रममा संघ उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले संघले स्थापनाकालदेखि हालसम्म परिवार नियोजन, यौन तथा प्रजनन् स्वास्थय र अन्य बिभिन्न स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रम एवं गतिविधिकामबारेमा जानकारी दिदै संघले अपाङ्गतामैत्री सेवा प्रवाह गरिरहेको र अन्य स्वास्थ्य निकायमा पनि यस्तो व्यबस्था हुनु पर्ने औल्याउनुभयो ।
उहाँले संघले गतवर्ष चार हजार ३०९ जना अपाङ्गता भएका व्यक्तिmाई स्वास्थ्य सेवा दिएको बताउदै संघमा आउने दातृ निकायको कार्यक्रम कटौती र सरकारबाट बजेट व्यबस्थापन नहुँदा दिदै आएको सेवा प्रभावित हुदै कर्मचारी समेत कटौती गर्नु पर्ने बाध्यात्मक अबस्था आएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको पहुँच स्थानीयस्तरमै पुर्याउन संघ लागिरहेको बताउदै केही पालिकामा कार्यक्रम सञ्चालन गरेको र यसको प्रभावकारीतासमेत बढेको बताउनुभयभो ।
संघमा परेको आर्थिक संकटले अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्ग र आर्थिकरुपमा विपन्न वर्गले नै स्वास्थ्य सेवा नपाउने अबस्था आउने चुनौती थपिएको भन्दै उहाँले राज्यले यसलाई गम्भिर रुपमा लिनुपर्ने औल्याउनुभयो ।
शाखा प्रबन्धक अर्यालले परिवार नियोजन संघले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई नै पियर एजुकेटर (साथी शिक्षक)को तालिम दिएर समुदायमा परिचालन गर्दा यसले निकै सकारात्मक प्रभाव पारेको र अपाङ्गता भएका व्यक्तिको जीवनमा नयाँ उर्जा थपेको बताउनुभयो ।
अपाङ्गता भएका सबै व्यक्तिलाई अन्य व्यक्ति सरह सबै चाहनाको साथै यौन चाहना हुने तर परिवारका सदस्यलाई खुलेर भन्न नसक्ने, उनीहरुको बिवाहर सन्तान जन्माउने अधिकार र चाहनालाई मार्नु पर्ने तथा उनीहरुको यौन रोग वा विविध समस्याको सामना गर्नुपरेको अबस्थामा संघले बिभिन्न पालिकामा सञ्चालन गरेको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित गर्न सहज हुदै गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अनुसन्धान विज्ञ एवम् प्राध्यापक अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरि संविधान एवं कानूनमा गरिएकोृ व्यबस्था कार्यान्वयनमा नआउँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन भइरहेको बताउनुभयो । उहाँले कतिपय अपाङ्गता भएका व्यक्तिको जीवन निकै कष्टकर बनेको उदाहरण प्रस्तुत गर्दै उनीहरुको अधिकारलाई सुनिशिचत गर्न देशका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकामा सचेतना तालिम दिदै आउनु भएकी अम्बिका कुइँकेलले समाज र परिवारमा अपाङ्गता भएका व्यक्तिले विवाह गर्नु नहुने, सन्तान जन्माउन नहुने जस्ता सोचले समस्या परेको भन्दै अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्यालाई समाधानको बाटोमा लैजान अत्यावश्यक रहेको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई सचेतना तालिक दिदै आउनु भएकी सन्जिया श्रेष्ठले अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई महिनावारी स्वच्छता, सरसफाई, माया प्रेम, विवाह, सन्तान जन्माउने चाहनालाई बञ्चित गर्न नहुनेबारेमा शिक्षा प्रदान गर्दै परिवार नियोजनका साधनको प्रयोगकाबारेमा जानकारी गरत्यस क्षेत्रका व्यक्तिहरू लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा सिबिआर भक्तपुरमा कार्यरत गङ्गा प्रजापति, सुनिता दुवाललगायतले अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे बुझाउन थालेपछि समुदायमा परिवर्तन आएको सुनाउदै समस्या र चुनौतीहरु भने धेरै रहेको बताउनुभयभो ।