ललितपुर, ३१ भदौ । नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना कालदेखि आर्थिक वर्ष २०५६/५७ सम्म वैज्ञानिक (एस–१) र वरिष्ठ प्राविधिक÷प्रशासनिक अधिकृत (टी–७/ए–७) तथा वैज्ञानिक (एस–२) र वरिष्ठ प्राविधिक/प्रशासनिक अधिकृत (टी–८/ए–८) को तलबमान समान थियो ।
त्यसपछि फरक पारिएको तलबमानको समस्या समाधान गर्न विगतमा सम्बन्धित समूहले मौखिक रुपमा आवाज उठाउँदै आइरहेकोमा २०७९ फागुन २८ मा कार्यकारी निर्देशक र २०८० वैशाख ३१ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अध्यक्ष तथा तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्रीज्यू समक्ष लिखित आग्रह गरियो । सामूहिक निवेदनपश्चात परिषद्को २०८० जेठ ४ मा बसेको ६३औँ बैठकमा समेत निर्णयार्थ पेस भई सो सम्बन्धमा अध्ययन गरी कानुनसम्मत रायसहितको प्रतिवेदन पेस गर्न परिषद् व्यवस्थापनलाई निर्देशन दिने निर्णय भएको छ ।
सोही सम्बन्धमा कार्यकारी निर्देशकज्यूको अध्यक्षतामा २०८० वैशाख १७ मा परिषद् केन्द्रीय कार्यालयका निर्देशकज्यूहरु एवं महाशाखा प्रमुखज्यूहरुको उपस्थितिमा परिषद् व्यवस्थापनको बैठकबाट ’नेपाल कृषि अनुसन्धान परिषद्को स्वीकृत दरबन्दीअनुसार वैज्ञानिक (एस–२), वैज्ञानिक (एस–१), बरिष्ठ प्राविधिक अधिकृत (टी–७) तथा वरिष्ठ प्राविधिक अधिकृत (टी–८) को जेष्ठता तथा तलबमान सम्बन्धमा विभिन्न पक्षले दिएको निवेदन तथा उठान भएका गुनासाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्नका लागि परिषद्का प्रशासन निर्देशकज्यूको संयोजकत्वमा ६ सदस्यीय कमिटी गठन गर्ने’ निर्णय भएको छ ।
नेपाल कृषि अनुसन्धान ऐन २०४८ मार्फत नेपाल कृषि अनुसन्धान परिषद् स्थापनापश्चात उल्लिखित उद्देश्य पूर्ति हेतु ऐनको दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृतिमा कर्मचारी प्रशासन विनियम २०४९ मा बाह्रवटा परिच्छेदमा ९३ विभिन्न विनियम तथा विनियमका केही व्यवस्थामा आवश्यक वाह्रवटा अनुसूचीमार्फत परिषदमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ ।
परिषद्को कामको प्रकृतिअनुसार विभिन्न पद र तह सिर्जना गरी पदको कार्य विवरण तोकिएबमोजिम हुने गरी विशिष्टीकृत अनुसन्धानका लागि विषयगत वैज्ञानिक समूह, विविध प्राविधिक सहकार्य तथा सहयोग हेतु प्राविधिक समूह तथा आर्थिक प्रशासनिक कार्य हेतु लेखा÷प्रशासन समूह गरी तीनवटा समूहमा विभाजन गरी कार्य सम्पादन गर्दै आएको छ ।
यसै सन्दर्भमा स्थापना कालदेखि आव २०५६/५७ सम्म वैज्ञानिक (एस–१) र वरिष्ठ प्राविधिक अधिकृत (टी–७) तथा वैज्ञानिक (एस–२) र वरिष्ठ प्राविधिक अधिकृत (टी–८) को समान भएको तलबमान त्यसपश्चात फरक पर्न गएकाले सो सम्बन्धी निम्न व्यवस्था रहेको देखिन्छ ।
परिषद्को स्थापनापश्चात २०५२ सालको तलबी प्रतिवेदनमा वैज्ञानिक (एस–१) तथा प्राविधिक अधिकृत (टीओ–५) को आधारभूत तलबमान समान ३ हजार ८ सय र वैज्ञानिक (एस–२) र प्राविधिक अधिकृत (टीओ–६) को आधारभूत तलबमान समान ४ हजार २ सय देखिन्छ ।
परिषद्को स्थापनापश्चात २०५२ सालमा वैज्ञानिक एस–१ र एस–२ तथा प्राविधिक अधिकृतहरुको आधारभूत तलबमान
वैज्ञानिक समूह अधिकृत समूह आधारभूत तलबमान
वैज्ञानिक (S–1) प्राविधिक अधिकृत (TO-6) रु. ४२००.००/–
वैज्ञानिक (S–2) प्राविधिक अधिकृत (TO–5) रु. ३८००.००/–
– प्राविधिक अधिकृत (TO-4) रु. ३४००.००/–
त्यसपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को कर्मचारी प्रशासन विनियम २०४९ को २०५५ मंसिर ११ मा मा प्रथम संसोधित विनियमको परिच्छेद–२ दफा–७ ले परिषद्को सेवामा रहने पद र तहहरु तथा लागू हुँदाका बखत कायम रहेका परिषद्को विभिन्न पद/तहहरुको मिलान गर्दा अनुसूची–१ (क) बमोजिम गर्ने तथा विनियमको दफा १२ (ख) ले प्रस्तावित पद, पद मिलान, मौजुदा तलव स्केल समेत पनि अनुसूची–१ (क) को खण्ड (क) वैज्ञानिक समूहअन्तर्गत पद वैज्ञानिक तह एस–१ तथा सोही अनुसूचीको खण्ड (ख) प्राविधिक समूहअन्तर्गत तह टी–७ पद वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ कम्प्युटर अधिकृत, वरिष्ट इन्जिनियरका लागि समान आधारभूत तलबमान/पे–स्केल ४ हजार ६२० तथा वैज्ञानिक (एस–२) तथा वरिष्ठ प्राविधिक अधिकृत (टी–८) को तलबमान पनि समान ५ हजार ४० रुपैयाँ कायम रहेको छ ।
प्रथम संसोधित विनियमको दफा १२ (ख) ले निर्देशित अनुसूची–१(क) को मौजुदा आ.व. २०५४/५५–०५६/५७ सम्म कायम तलबमान
वैज्ञानिक समूह अधिकृत समूह भइरहेको पदमिलान आधारभूत तलबमान
वैज्ञानिक (S–2) वरिष्ठ प्राविधिक अधिकृत (T–8) प्राविधिक अधिकृत (T-O) रु. ५०४०.००/–
वैज्ञानिक (S–1) वरिष्ठ प्राविधिक अधिकृत (T–7) प्राविधिक अधिकृत (TO-5) रु. ४६२०.००/–
– प्राविधिक अधिकृत (T–6) प्राविधिक अधिकृत (T–4) रु. ४३००.००/–
यसरी पद/तह मिलान गर्दा अधिकृत समूहअन्तर्गतको प्राविधिक अधिकृत (टीओ–४) पद/तहलाई प्राविधिक अधिकृत (टी–६), प्राविधिक अधिकृत (टीओ–५) पद/तहलाई वरिष्ठ प्राविधिक अधिकृत (टी–७) र प्राविधिक अधिकृत (टीओ–६) पद/तहलाई वरिष्ठ प्राविधिक अधिकृत (टी–८) पद/तहमा मिलान गरिएको छ ।
साथै सो समयमा कार्यकारी निर्देशकको आधारभूत तलबमान प्रमुख वैज्ञानिक (एस–७) को आधारभूत तलबमान भन्दा एक सय रुपैयाँ बढाएर ७ हजार ५ सय रुपैयाँ बनाएको देखियो । प्रमुख वैज्ञानिक (एस–८) को आधारभूत तलबमान कार्यकारी निर्देशकको भन्दा बढी ७ हजार ९ सय रुपैयाँ रहेको देखिन्छ ।
यसरी कार्यकारी निर्देशकको तलबमान २०५२ मा प्रमुख वैज्ञानिक (एस–७) को पनि आधारभूत तलबमान समान ६ हजार ३ सय भएकोमा २०५७ सालमा आधारभूत तलबमान पनि बढाएर प्रमुख वैज्ञानिक (एस–८) को आधारभूत तलबमानसँग समान १५ हजार रुपैयाँ गरेको देखिन्छ ।
यसरी स्पष्ट रुपमा समान रहेको वैज्ञानिक (एस–१) र वरिष्ठ प्राविधिक अधिकृत (टी–७) तथा वैज्ञानिक (एस–२) र वरिष्ठ प्राविधिक अधिकृत (टी–८) को तलबमानलाई २०५७ सालमा राष्ट्र सेवक कर्मचारीको तलबमान वृद्धि हुँदा तत्कालीन अवस्थामा वरिष्ठ प्राविधिक अधिकृत (टी–७) को हकमा ४ हजार ६२० रुपैयाँबाट वृद्धि गरी ८ हजार ६५० रुपैयाँ पु¥याइँदा वैज्ञानिक (एस–१) पद÷तहको समान तलबमान ४ हजार ६२० रुपैयाँबाट बढाएर ८ हजारमात्र गरेको देखिन्छ ।
यसैगरी, वरिष्ठ प्राविधिक अधिकृत (टी–८) को हकमा ५ हजार ४० रुपैयाँबाट वृद्धि गरी ९ हजार ५ सय रुपैयाँ कायम गरिँदा वैज्ञानिक (एस–२) पद/तहको समान तलबमान ५ हजार ४० रुपैयाँबाट ८ हजार ६५० रुपैयाँमात्र कायम गरी कार्यन्वयनमा ल्याएको र तत्पश्चात निरन्तर सोही अनुसार कायम हुन गएको देखिन्छ ।
आव २०५७/५८ को तलबी प्रतिवेदनअनुसार २०५७ साल सावण १ बाट लागू भएको वैज्ञानिक एस–१ र एस–२ तथा प्राविधिक अधिकृतहरुको आधारभूत तलबमान
वैज्ञानिक समूह अधिकृत समूह आधारभूत तलबमान
– वरिष्ठ प्राविधिक अधिकृत (T–7) रु. ९५००.००/–
वैज्ञानिक (S–2) वरिष्ठ प्राविधिक अधिकृत (T–8) रु. ८६५०.००/–
वैज्ञानिक (S–1) – रु. ८०००.००/–
– प्राविधिक अधिकृत (T–6) रु. ७५००.००/–
२०५७ सालमा तलबमान त्रुटी भएसँगै नेपाल सरकारले विभिन्न समयमा राष्ट्रसेवक कर्मचारीहरुको आधारभूत तलबमानमा वृद्धि गरेअनुसार हाल वरिष्ठ प्राविधिक अधिकृत (टी–७) को आधारभूत तलबमान ४८ हजार ७३७ रुपैयाँ कायम रहँदा वैज्ञानिक (एस–१) को हकमा भने ४५ हजार ८३९ रुपैयाँमात्र कायम गरिएको छ । यस्तै वरिष्ठ प्राविधिक अधिकृत (टी–८) को आधारभूत तलबमान ५२ हजार ४१७ रुपैयाँ हुँदा वैज्ञानिक (एस–२) को ४८ हजार ७३७ रुपैयाँमात्र कायम गरिएको छ
आव २०७९÷०८० को तलबी प्रतिवेदनअनुसार वैज्ञानिक एस–१ र एस–२ तथा प्राविधिक अधिकृतहरुको आधारभूत तलबमान
वैज्ञानिक समूह अधिकृत समूह आधारभूत तलबमान
– वरिष्ठ प्राविधिक अधिकृत (T–8) रु. ५२४१७.००/–
वैज्ञानिक (S–2) वरिष्ठ प्राविधिक अधिकृत (T–7) रु. ४८७३७.००/–
वैज्ञानिक (S–ज1) रु. ४५८३९.००/–
– प्राविधिक अधिकृत (T–6) रु. ४३६८९.००/–
यसरी तलबमानमा भएको त्रुटीका कारण विगत २४ वर्षदेखि वैज्ञानिक (एस–१) र (एस–२) पद/तहमा कार्यरत कर्मचारीहरु मर्कामा परेका छन् । जसको कारण वैज्ञानिक (एस–१) पद/तहमा यस परिषदमा नाम निकालेका कर्मचारी परिषद्को सेवा छोडेर विदेश पलायन हुने अथवा निजामती सेवामा जाने गरेको अवस्था छ ।
साथै विश्वविद्यालयमा सोही योग्यता पूरा गरी प्रवेश गरेका उप–प्राध्यापकलाई नेपाल सरकारको राजपत्रांकित द्वितीय श्रेणीसरहको सुविधा दिने हुँदा अधिकांश यस परिषदमा वैज्ञानिक (एस–१) पद/तहमा कार्यरत कर्मचारी राजीनामा गरी विश्वविद्यालयमा उप–प्राध्यापक पदमा जाने गरेका छन् ।
यसले गर्दा एकातर्फ एकै पदमा पटक–पटक विज्ञापन गरिरहनुपर्ने बाध्यता परिषद्लाई परेको छ भने अर्कोतर्फ संस्थाप्रति अन्य नागरिकले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन सकिरहेको छैन । यसले वैज्ञानिक कर्मचारीहरुको अभावमा अनुसन्धान कार्य पनि नराम्रोसँग प्रभावित हुन पुगेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को विनियम २०४९ को दफा “२” को “ज” मा “अधिकृत” भन्नाले प्राविधिक समूहअन्तर्गतका टी–६, टी–७, टी–८ र वा प्रशासन तथा लेखा समूह अन्तर्गतका ए–६, ए–७, ए–८ र ए–९ वा सो सरहका विविध समूहका पदमा कार्यरत अधिकृत हुन् भन्ने सम्झनु पर्छ भनिएको छ ।
सोही दफाको “त” मा “वैज्ञानिक” भन्नाले कृषि अनुसन्धान कार्यमा उच्च दक्षता हासिल गरेको कृषि वैज्ञानिक हो भन्ने सम्झनुपर्छ भनि प्रस्ट रुपमा व्याख्या गरिएको हुँदा अधिकृत समूहभन्दा वैज्ञानिक समूहलाई माथिल्लो मर्यादा क्रममा राख्दै अन्य समूह र वैज्ञानिक समूहको बीच परिषद् स्थापना कालदेखि नै तुलना हुने गरेको पाइँदैन ।
परिषद्को हाल विद्यमान विनियमको परिच्छेद “३” को दफा “१७” को “क” को उपसमूह परिवर्तन गर्ने व्यवस्थाको “२” नम्बर बुँदामा कृषि विषयमा स्नातकोत्तर गरेका वरिष्ठ प्राविधिक अधिकृत (टी–७) ले वैज्ञानिक (एस–१) पद तहमा र वरिष्ठ प्राविधिक अधिकृत (टी–८) ले वैज्ञानिक (एस–२) पद तहमा प्राविधिक अधिकृततर्फको उप–समूहको पदसमेत वैज्ञानिक समूहको उप–समूहमा परिवर्तन गरी समायोजन हुन पाउने स्पष्ट व्यवस्था छ ।
साथै विनियम “१२ ख ” को अनुसूची “१ क” को प्रस्तावित पद, पद मिलान र मौजुदा तलब स्केलको स्पष्टीकरणको “५” नम्बर बुँदामा यसरी समूह तथा उपसमूह परिवर्तन गरी आएका टी–७ र टी–८ हरुको एस–१ र एस–२ को सेवा अवधि नयाँ नियुक्ति सरह सुरु भएको मानिने उल्लेख छ ।
त्यसकारण मर्यादाक्रम र जेष्ठतामा वरिष्ठ प्राविधिक अधिकृत (टी–७) भन्दा वैज्ञानिक (एस–१) र वरिष्ठ प्राविधिक अधिकृत (टी–८) भन्दा वैज्ञानिक (एस–२) माथि हो भन्ने स्पष्ट रुपमा देखिन्छ । तर, तलबमान त्रुटीकै कारण वरिष्ठ प्राविधिक अधिकृतहरुको वैज्ञानिक समूहमा आउने तीव्र चाहना हुँदाहुँदै पनि समूह परिवर्तन गर्ने प्रावधान प्रभावकारी रुपमा लागू हुन सकिरहेको छैन ।
यसरी अन्यायमा परेका वैज्ञानिक कर्मचारीहरुले विगत देखिनै तलबमानमा गरिएको त्रुटी सच्याई पाउँ भनी परिषदसमक्ष मौखिक र लिखित रुपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेको हुँदा विवश भई सम्पूर्ण वैज्ञानिक कर्मचारीहरुले २०८० चैत १५ मा सम्मानित उच्च अदालत पाटन समक्ष न्यायको लागि मुद्दा दाएर गरे ।
२०८१ जेठ २ मा रिट निवेदक सरहका समान समकक्षी तहका प्राविधिक÷प्रशासनिक कर्मचारीभन्दा निज रिट निवेदकहरुलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकाले सम्मत २०८१ साउन १ बाट लागू हुनेगरी रिट निवेदक सरहका समान समकक्षी तथा प्राविधिक/प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीका नाउँमा परमादेश जारी भयो ।
तर, आजका मितिसम्म सो फैसला कार्यान्वयन गर्नतर्फ परिषद् व्यवस्थापन उदासीन देखिएको छ । यसरी विगतमा समान रहेको तलबमानलाई बिगार्नदेखि हाल अदालतको आदेश पालना गर्न नदिने प्रशासनिक कर्मचारीका कारण निकम्बा बनेको परिषद् व्यवस्थापनले राजीनामा दिनुपर्ने, अदालतको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने, समकक्षी प्रशासनिक कर्मचारीसरह वैज्ञानिक कर्मचारीलाई साधन स्रोतको वितरण गर्नुपर्ने र अनुसन्धान गर्ने उचित वातावरण सिर्जना गर्नुपर्ने मागसहित देशभरका वैज्ञानिक कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
अदालतको फैसला र कार्यकारी समितिको निर्णय यथाशीघ्र कार्यान्यन नभए वैज्ञानिक कर्मचारी जस्तोसुकै आन्दोलन गर्नसमेत तयार छन् ।
(आन्दोलनरत १९१ कर्मचारीका तर्फबाट)